काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन्न आग्रह गरको छ ।
निर्वाचनको क्रममा मानव अधिकारको अवस्थाको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरिरहेको बताउदै आयोगले अनुगमनका क्रममा राजनीतिक दलका केहि नेता र उम्मेदवारले एक अर्को दल, नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको उल्लेख गरेको छ ।
त्यस्तै आयोगले अरुको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको र मतदाताहरूलाई झकुन दल/नेतालाई भोट दिने ?झ भनी प्रश्न सोध्ने र त्यसलाई भिडियो/अडियो रेकर्ड गराई सामाजिक सञ्जालमा राखी मतदाताको गोप्य मतदानको अधिकार र गोपनियताको हक उल्लङ्घन गरेको अनुगमनमा पाएको उल्लेख गरेको छ ।
त्यसैगरी आयोगले निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता केही दल र उम्मेदवारहरुबाट उल्लङ्घन भएको प्रश्न उठेको, निर्वाचनपूर्व नै अमूक उम्मेदवारले जित्छ’ भनी समाचार तयार गरी भ्रम सिर्जना गरेको, मतदाता शिक्षा प्रभावकारी हुन नसकेको, केही राजनीतिक दलका कार्यालयहरूमा तोडफोड भएको विषय देखेको बताएको छ ।
आयोगले निर्वाचनको क्रममा एक अर्काप्रति घृणायुक्त आरोप प्रत्यारोप नगर्न, कोही कसैले पनि सामाजिक सञ्जालको दुरुपयोग नगर्न, मतदाताको गोपनियताको हकमा प्रभाव नपार्न, भ्रमपूर्ण समाचार प्रकाशन/प्रसारण नगर्न, हिंसात्मक क्रियाकलाप बन्द गर्न, मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबै पक्षलाई आग्रह गरेको छ ।

FACEBOOK COMMENTS