काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अस्पताललाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको छ ।
बोर्डले दाबीलाई एकरुपता गर्न, वित्तीय सन्तुलन कायम गर्न र अनावश्यक दाबी कम गर्नका लागि स्वास्थ्य संस्थालाई न्यूनतम दररेटमा दाबी गर्न निर्देशन दिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए ।
बोर्डले आजै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै औषधिलगायतका सेवासुविधा गरेबापत दाबी जुन दररेठ न्यून छ सोही दररेट मात्र दाबी गर्न निर्देशन दिएको हो ।
“बीमा बोर्डभन्दा अस्पतालको दररेट न्यून छ भने त्यही अस्पतालकै दररेटमा दाबी गर्न निर्देशन दिएका छौँ”, उनले भने, “यदि बोर्डको भन्दा अस्पतालको दररेट बढी छ भने बोर्डकै दररेटमा दाबी गर्न भनिएको छ ।”
बोर्डले अस्पताललाई मेडिकल, सर्जिकल प्रकार, सर्जिकल तथा मेडिकल प्याकेज, प्रयोगशाला, फिजियोथेरापी, रेडियोलोजी र श्ययालगायतको शुल्कमा न्यून दररेट दाबी गर्न निर्देशन दिएको हो । न्यून दररेट दाबीसम्बन्धी व्यवस्था आगामी फागुन १ गतेदेखि कार्यान्वयन गरिने सूचना अधिकारी मल्लले बताए । यसअघि बोर्डले सेवाग्राहीलाई अनावश्यक परीक्षण नगराउनसमेत अपिल गरिसकेको छ ।

FACEBOOK COMMENTS