भाद्र ३ – मकवानपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति १० बजे हेटौंडा–१ जरुवाटोलस्थित आफ्नै घरमा निधन भएका ६१ वर्षीय व्यक्तिको बुधबार दिउँसो पीसीआर रिपोर्ट आउँदा कोरोना पुष्टि भएको हो ।
हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा स्वाब परीक्षण गर्दा मृतकमा कोरोना संक्रमण देखिएको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा रक्तचाप, किड्नी, हेपाटाइटिस बीको समस्या देखिएकाले थप परीक्षणका लागि काठमाडौं लैजान सोमबार स्वाब संकलन गरिएको थियो ।
‘उनको शव अहिले घरमै छ । हामीले शव व्यवस्थापनका लागि नेपाल आर्मीसँग समन्वय गरिरहेका छौं’, हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपानेले भने ।
FACEBOOK COMMENTS