भदौ ३, बुधबार – स्थानीय प्रशासनले तोकेको मापदण्डको ख्याल नगरी पसल व्यवसाय खोल्नुभएको छ भने कारवाहीमा पर्नुहोला ! ख्याल गर्नुहोला । तपाईंले पसलमा अनिवार्यरुपमा डोरीले बाँधेर घेरेको हुनुपर्छ, तपाईं स्वयम्ले पनि मास्क लगाएको हुनुपर्छ, पसलमा सेनीटाइजर राख्न नबिर्सनुहोला अनि भौतिक दुरी कायम गराएर भिडभाड नगराई सरसामान बेच्नुपर्छ ।
सामान किन्नेले पनि मास्क लगाएको हुनुपर्नेछ । यदि प्रशासनले यसो गरेको नपाएमा तपाईंको पसल सात दिन बन्द गर्न सक्नेछ । ‘आजदेखि बजारमा अनुगमनका लागि मानिसहरु पठाएका छौं, उनीहरुले फोटो, भिडियो खिचेर ल्याउँछन्, स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएको पाइएमा सात दिनसम्म पसल गर्न बाध्य हुनेछौं’, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने ।
साउन १८ गतेदेखि दोस्रो चरणको लकडाउन गरिएको बाँकेमा साउन ३१ गतेदेखि हटाइयो । त्यसपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले भिडभाड कम गर्न, भौतिक दुरी कायम गर्न र मास्क लगाउन आग्रह गर्दै सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।
यद्यपि जोखिम बढेपछि यहाँका दुई स्थानीय तह कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाले साउन ३२ गतदेखि भदौ ५ गतेसम्म लकडाउन गरेका छन् ।
FACEBOOK COMMENTS