काठमाडौं । अभिनेता राजेश हमालले फिल्म ‘प्रवासी जीवन’ ले उज्वल भविष्यको सपना बोकेर प्रवास पुग्ने नेपालीको कथालाई भन्ने बताएका छन् ।
आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने उक्त फिल्मको विषयमा जानकारी दिँदै अभिनेता हमालले फिल्ममा जोडिनुको कारण विषयवस्तु र त्यसले दिने संदेश रहेको बताए । उनले भने, ‘म अमेरिका गएको समायमा यसका निर्देशक तथा अभिनेता श्याम जी सँग भेट भयो । उहाँको अभिनय प्रतिको लगावले गर्दा म अभिनय गर्न तयार भएँ । यसमा देखिएको विषयले कहीं कतै प्रवासमा रहेका नेपालीको विषयलाई सम्बोधन गरेको छ ।’
नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको उक्त फिल्मलाई श्याम क्षेत्रीसँगै राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् ।
उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने बताए । फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।
‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको उक्त फिल्ममा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन् । अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको उक्त फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको छ ।

फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक श्याम क्षेत्रीले तयार गरेका हुन् । यसमा अमृत बिसुवाले छायाङ्कन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व सङ्गीत, देवी खतिवडाले शृङ्गार, राज शङ्कर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले सङ्गीत सिर्जना, मुख्य सहायक निर्देशन लक्ष्मण अधिकारीले गरेका छन् भने प्रमोद खरेल र प्रताप दास जस्ता गायकले स्वर दिएका छन् ।

FACEBOOK COMMENTS