काठमाडौँ । भ्रष्टाचार काण्डमा मुछिएका युक्रेनका पूर्वमन्त्री हर्मन हलुश्चेन्कोलाई देश छाड्ने प्रयासका क्रममा पक्राउ गरिएको छ ।
गत वर्ष भ्रष्टाचार काण्डमा मुछिएपछि सरकारी पदबाट हटाइएका उनी रेलमार्फत सीमा पार गर्ने क्रममा नियन्त्रणमा लिइएको बताइएको छ । उनी कहाँ जाने तयारीमा थिए भन्ने खुलाइएको छैन ।
गत नोभेम्बर सार्वजनिक भएको करिब १० करोड अमेरिकी डलर बराबरको कथित हिनामिना योजनामा उनीसहित सरकारका केही उच्च पदाधिकारीहरू संलग्न रहेको आरोप लागेको थियो । यस प्रकरणले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशासनमाथि ठूलो दबाब सिर्जना गरेको थियो ।
राष्ट्रपतिको प्रमुख सल्लाहकार एन्ड्रीय यरमाकको घरमा छापा परेपछि उनले पदबाट राजीनामा दिएका थिए, यद्यपि राष्ट्रपति वा यरमाकमाथि कुनै औपचारिक आरोप भने लगाइएको छैन ।
युक्रेनको राष्ट्रिय भ्रष्टाचार नियन्त्रण ब्युरो (नाबु) ले जारी विज्ञप्तिमा राज्य सिमाना पार गर्ने क्रममा पूर्व मन्त्री हलुश्चेन्कोलाई नियन्त्रणमा लिइएको जनाएको छ । यद्यपि विज्ञप्तिमा नाम उल्लेख नगरिए पनि युक्रेनका प्रमुख सञ्चारमाध्यमहरूले उनलाई हलुश्चेन्को नै भएको बताएका छन् ।

अपरेशन मिडास नाम दिइएको १५ महिनाको अनुसन्धानपछि नाबु र भ्रस्टाचार नियन्त्रण कार्यालयले ऊर्जा क्षेत्रमा, विशेषगरी राष्ट्रिय आणविक कम्पनी इनारगोटाममा ठेक्का सम्झौताबाट १० देखि १५ प्रतिशतसम्म कमिसन असुल्ने योजनाबद्ध जालो सञ्चालन भएको आरोप लगाएका छन् । ठूलो रकम नगदमा संकलन गरी विदेश-रूससम्म-पठाइएको दाबी गरिएको छ।

सीमापार भाग्न सक्ने सूचना पाएपछि सुरक्षाकर्मीलाई सतर्क रहन भनिएको र पक्राउपछि उनलाई थप सोधपुछका लागि किभ लैजाँदै गरिएको बताइएको छ। हलुश्चेन्कोले भने आरोपहरूविरुद्ध कानुनी रूपमा प्रतिरक्षा गर्ने बताएका छन् ।

यसै प्रकरणमा पूर्व उपप्रधानमन्त्री ओलेक्सीय चेर्निशोभ अवैध सम्पत्ति आर्जनको आरोपमा पक्राउ परिसकेका छन् भने व्यवसायी तिमुर मिन्दिच देश छाडेर फरार भएको बताइएको छ ।

रूसले युक्रेनको ऊर्जा संरचनामाथि आक्रमण तीव्र बनाइरहेको कठोर जाडोको समयमा ऊर्जा क्षेत्रमै भ्रष्टाचार भएको आरोप बाहिरिएपछि देशभित्र व्यापक आक्रोश फैलिएको छ । भ्रष्टाचार नियन्त्रण युक्रेनको युरोपेली संघ सदस्यता प्रक्रियाको प्रमुख शर्तसमेत मानिन्छ ।
FACEBOOK COMMENTS