काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयका भाइ एन्ड्रयू माउन्टबेटन(विन्डसर० लाई प्रहरीले रिहा गरेको छ । उनलाई सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा बिहीबार पक्राउ गरिएको थियो ।
थेम्स भ्याली पुलिसले एन्ड्रयूलाई अनुसन्धानको प्रक्रियाअन्तर्गत रिहा गरिएको पुष्टि गरेको बिबिसीले उल्लेख गरको छ । प्रहरीका अनुसार नोरफोक क्षेत्रमा गरिएको खानतलासीसमेत सम्पन्न भइसकेको छ । यद्यपि, उनीविरुद्धको अनुसन्धान भने जारी रहने जनाइएको छ ।
राजा चार्ल्स तृतीयले भाइको पक्राउबारे प्रतिक्रिया दिँदै कानूनलाई आफ्नो काम गर्न दिनुपर्ने बताएका छन् । उनले प्रहरी अनुसन्धानमा दरबारको पूर्ण समर्थन र सहयोग रहने पनि स्पष्ट पारेका छन् ।
यसअघि थेम्स भ्याली प्रहरीले कुख्यात यौन अपराधी जेफ्री एपस्टाइनसँग एन्ड्रयूको सम्बन्धबारे उठेका आरोपको अनुसन्धान गर्ने विषयमा विचार गरिरहेको जनाएको थियो । साथै, एपस्टाइनसँग गोप्य सूचनाहरू आदानप्रदान गरिएको भन्ने आरोपको पनि समीक्षा भइरहेको बताइएको छ ।
हालै अमेरिकी सरकारद्वारा सार्वजनिक गरिएका कागजातहरूमा एपस्टाइन र एन्ड्रयूबीचको संवाद समेटिएको उल्लेख गरिएको छ । ती कागजात सार्वजनिक भएसँगै बेलायती राजपरिवारमाथि थप दबाब बढेको विश्लेषण गरिएको छ ।

FACEBOOK COMMENTS