काठमाडौँ । जारी टी–२० विश्वकपको समूह चरणको अन्तिम खेल सकिँदा कोलम्बोको मैदान स्तब्ध थियो, तर जिम्बाब्वेको ड्रेसिङ कक्ष उत्साह र खुसीले भरिएको थियो ।
श्रीलंकाविरुद्ध १७९ रनको लक्ष्य पछ्याउँदै ऐतिहासिक जित निकालेपछि टोलीले विश्वकपमा आफ्नो प्रभावशाली यात्राको नयाँ अध्यायको शुरुवात गर्यो । आयरल्यान्डविरुद्धको खेल वर्षाले प्रभावित नभएको भए उनीहरू चारै खेल जित्ने अवस्थामा थिए ।
सहायक प्रशिक्षक डियोन इब्राहिमका लागि यो सफलता विगतको सुनौलो झल्को थियो । उनी सन् २००३ मा सुपर सिक्स पुगेको जिम्बाब्वेको टोलीका सदस्य थिए । त्यसयता भने जिम्बाब्वे क्रिकेट ’यदि त्यसो भएको भए’ भन्ने अफसोसले भरिएको यात्रामा थियो । सन् २०२२ को टी–२० विश्वकपको उत्साहदेखि सन् २०२४ मा छनोट हुन नसक्ने निराशासम्म, टोलीले उतारचढावपूर्ण बाटो तय गरेको थियो ।
तर अहिलेको विश्वकप तालिकाले फरक कथा लेखिरहेको छ । समूह चरणबाट जिम्बाबेसहित भारत, दक्षिण अफ्रीका, वेस्ट इण्डिज, इङल्याण्ड, श्रीलंका, पाकिस्तान र न्यूजील्याण्ड सुपर आठमा पुगेका छन् । बलियो अस्ट्रेलिया र घरेलु समर्थकको साथ पाएको श्रीलंकासहितको समूहमा जिम्बाब्वेले प्रभुत्व जमायो । ओमानलाई सजिलै पराजित गरेको टोलीले अस्ट्रेलियाविरुद्ध आत्मविश्वासपूर्ण प्रदर्शन गर्यो भने श्रीलंकाविरुद्ध निर्णायक जित निकाल्यो ।
यस सफलताको जग केन्यामा भएको क्षेत्रीय छनोटबाट सुरु भएको थियो । रुवान्डा र तान्जानियाजस्ता टोलीविरुद्ध जित्दै सुरु भएको लय अहिले यस विश्वकप चक्रमा लगातार १३ जितसम्म पुगेको छ । इब्राहिम भन्छन्– ’पछिल्ला १८ महिनामा सधैं नतिजा हाम्रो पक्षमा आएनन्, तर साना पक्षमा निरन्तर सुधार भयो । अहिलेको सफलता त्यही दीर्घकालीन प्रयासको परिणाम हो ।’

टोलीको पुनर्जागरणमा तीन आधारस्तम्भ देखिएका छन्– विगत, वर्तमान र भविष्य । २२ वर्षीय ब्रायन बेनेट प्रतियोगिताका उदाउदा नायक बनेका छन् । तीनै इनिङ्समा अविजित रहँदै उनले ४८, ६४ र ६३ रन बनाए । बलिङतर्फ ब्लेसिङ मुजराबानी ९ विकेट लिदै समुह चरणसम्म सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् ।

टोलीका कप्तान सिकन्दर रजा, जसलाई ’३९ वर्षीय युवा’ भनेर मजाकमा सम्बोधन गरिन्छ, अनुभव र नेतृत्वको केन्द्रमा छन् । इब्राहिमले उनलाई ’विश्वस्तरीय प्रतिभा’ को संज्ञा दिएका छन् । अर्का ब्याटर तडिवानाशे मरुमानी भारतमा हुने आगामी खेलप्रति उत्साहित देखिन्छन् ।

अब जिम्बाब्वे सुपर आठका लागि भारततर्फ अघि बढ्दैछ । कागजी रूपमा उनीहरू अझै पनि कमजोर दाबेदार मानिन्छन्, तर यही पहिचानलाई शक्ति बनाएर अघि बढ्ने तयारीमा टोली छ । कप्तान रजाको शब्दमा– ’हामी आफ्नो उत्कृष्ट प्रयास गर्नेछौं, बाँकी परिणाम समयले तय गर्नेछ ।’

FACEBOOK COMMENTS