काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज गण्डकी प्रदेशका विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको अनुगमन तथा समीक्षा गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले मुस्ताङ जिल्लामा पुगेर मुक्तिनाथ मन्दिर, जोमसोम लगायतका क्षेत्रको अवलोकन गरेकी थिइन् । उनले स्थानीय बासिन्दा, सुरक्षा निकायका प्रमुखहरू तथा निर्वाचन तयारीमा खटिएका कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गरेकी थिइन् ।
जोमसोममा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकारी (जिल्ला न्यायाधीश) तथा सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको अवस्था, सम्भावित चुनौती तथा विशेष गरी मौसमी प्रतिकूलताका विषयमा विस्तृत छलफल भएको थियो।
हिमाली तथा माथिल्लो भेगमा हिमपात वा वर्षा भएमा मतदान प्रभावित हुन सक्ने विषय उठेपछि प्रधानमन्त्री कार्कीले त्यस्ता क्षेत्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीका लागि आवश्यक औषधी, प्राथमिक उपचार सामग्री र अन्य उपकरणको पर्याप्त व्यवस्था गर्न निर्देशन दिएकी थिइन् । प्रधानमन्त्रीले मुस्ताङका विभिन्न हिमाली बस्तीहरूको हवाई निरीक्षणसमेत गरेकी थिइन् ।
शान्ति सुरक्षाको कुनै समस्या नरहेको स्थानीय अधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए । सहर झरेका मतदाता अरु बेला चैतमा फर्किने गरेका भए पनि यसपालि निर्वाचनकै कारण महिना दिनअगावै फर्किरहेको जानकारी पनि दिएका थिए ।

मुस्ताङबाट फर्किएपछि प्रधानमन्त्री पोखरा पुग्नुभयो । विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना मुख्यालयमा गण्डकी प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेलमा उच्चस्तरीय बैठक सम्पन्न भएको थियो ।

बैठकमा प्रमुख सचिव डण्डुराज घिमिरे, पृतनापति उपरथी भोला थापा, कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, नेपाल प्रहरीका डीआईजी दीपेन्द्र जीसी, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र शाह, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतको उपस्थिति थियो।

प्रमुख सचिव र पृतनापतिले निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन, मतदान स्थल, मौसमी चुनौती तथा आकस्मिक योजनासम्बन्धी प्रस्तुतीकरण गरेका थिए । त्यसपछि विभिन्न निकायका प्रमुखहरूले आफ्नो धारणा राखेका थिए ।

बैठकमा प्रस्तुत जानकारीअनुसार राजनीतिक दलहरूमा निर्वाचनप्रति उत्साह देखिएको, मतदातामा पनि जागरण रहेको, आचारसंहिता पालनाका सन्दर्भमा सम्झाउने र सहकार्यको वातावरण रहेको, उग्र गतिविधि कम रहेको, प्रचारप्रसार शान्तिपूर्ण, शिष्ट र मितव्ययी ढंगले भइरहेको ब्रिफिङ गरिएको थियो ।

यद्यपि, केही समूहले सामाजिक सञ्जालमार्फत बहिष्कारका नाममा वातावरण धमिल्याउन प्रयास गरेको विषय उठेको र त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याउने क्रम पनि चलिरहेको बताइएको थियो ।
गण्डकी प्रदेशमा कुल १८ लाख ४४ हजार ३५५ मतदाता रहेका छन्। १८ निर्वाचन क्षेत्रमा ३१४ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमध्ये २९ जना महिला उम्मेदवार रहेका छन् । प्रदेशभर १,२६९ मतदान स्थल तोकिएका छन् । हाल मौसम अनुकूल रहेको र मौसमविद्हरूले प्रतिकूलताको पूर्वानुमान नगरेकाले तोकिएको मिति फागुन २१ गते एकै दिन निर्वाचन सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।
प्रधानमन्त्री कार्कीले हालसम्मको तयारीलाई सन्तोषजनक र उत्साहप्रद भन्दै सम्बन्धित अधिकारीहरूलाई धन्यवाद दिएकी थिइन् । उनले निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विवादमुक्त रूपमा सम्पन्न गराउन फिल्डमा खटिएका कर्मचारी तथा सुरक्षा निकायको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरेकी थिइन् । राष्ट्रलाई निकास दिने माध्यमका रूपमा यस निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिएर सबैले मिलेर दायित्व पूरा गर्नुपर्ने उनको भनाइ थियो ।
FACEBOOK COMMENTS