गौर । कफ्र्यूका बाबजुत पनि रौतहटको गौरका भित्री भागमा आगजनी हुने क्रम रोकिएको छैन ।
जिल्ला प्रशासन कार्यालयबाट कफ्र्यू लगाएर नेपाली सेनासमेत परिचालन गर्दा पनि आगजनीका घटना नरोकिएको देखिएको छ ।भर्खरै गौर नगरपालिका–४ मचकुटिया टोलमा एउटा स्कुटरमा आगजनी भएको छ ।
हालसम्म प्रदर्शनकारीहरूबाट ६ वटा मोटरसाइकल र २ जिपमा आगजनी भएको छ । सेना परिचालनपछि गौरको मुख्य सडक शान्त देखिएपनि भित्री भागहरूको अवस्था अझै तनावग्रस्त छ ।
गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि तनाव सुरु भएको हो । मुस्लिम समुदाय मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दु समुदायले बाजा बजाएको भन्दै विवाद सुरु भएको थियो ।
विवादले गौरको वडा नम्बर ४, ५ र ६ मा झडप समेत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यासका सेलहरू प्रहार गरेको थियो । झडपका क्रममा प्रदर्शनकारीहरूले केही सवारी साधनमा आगजनी गरेका छ्न् भने घरमा तोडफोड भएका थिए । केही व्यक्ति सामान्य घाइतेसमेत भएको प्रहरीले जनाएको छ ।

दुई समुदायबीच झडप नरोकिएपछि गौरमा अनिश्चितकालीन कर्फ्यु

FACEBOOK COMMENTS