काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता सुमन विक्रम पाण्डेले पार्टी परित्याग गरेका छन् ।
पार्टी नेतृत्वको कार्यशैली चित्त नबुझेका कारण आफूले रास्वपा परित्याग गरेको उनले बताएका छन् । सार्वजनिक रूपमा उनले पार्टी परित्यागको कारण नेतृत्वको कार्यशैली उल्लेख गरे पनि भित्री रूपमा वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ भएको बताइएको छ ।
पर्यटन व्यवसायी समेत रहेका पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयका उपाध्यक्ष हुन् । काठमाडौंको ठमेलमा अवस्थित छायाँ सेन्टरका लगानीकर्ता समेत रहेका पाण्डे र बालेनबीच केही समयअघिदेखि विवाद सृजना हुँदै आएको थियो । ऐतिहासिक सम्पदा क्षेत्रभित्र उक्त व्यापारिक संरचना बनाइएको भन्दै बालेनले छाया सेन्टर भत्काउन बारम्बार प्रयास गरेका थिए । तर, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका कारण सकेका थिएनन् ।
छायाँ सेन्टर भत्काउन नसकेपछि मेयर बालेनले पटक–पटक अनुगमन गराएर उक्त व्इापारिक प्रतिष्ठानलाई विवादमा ल्याउने कोसिस गरेका थिए । यी र यस्ता धेरै कारणबाट बालेन र नेता पाण्डेबीच लामो समयदेखि टकराव रहँदै आएको थियो ।
भदौ २३ र २४ गते भएको नवयुवा पुस्ताको आन्दोलनको जगमा बालेन रास्वपा प्रवेश गरेपछि पाण्डे थप तनावमा परेका थिए । बालेनसँगको टकरावकै कारण पार्टीले उनलाई टिकट समेत नदिइएपछि पार्टी छोड्न बाध्य भएको बताइएको छ ।

नेता पाण्डे रास्वपाका प्रभावशाली नेता थिए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट–२ बाट रास्वपाको उम्मेदवार बनेका उननी १६ हजार ४७७ मत प्राप्त गरी उपविजेता बनेका थिए । त्यसपछि जिल्लामा सङ्गठन विस्तारलाई तीव्रता दिएका उनले अहिलेको निर्वाचनमा जित सुनिश्चितप्राय: गरिसकेका थिए ।

‘मैैले नुवाकोटका सबै वडामा सङ्गठन विस्तार गरेको थिएँ, सम्भवत: देशभरमै पहिलो हुन सक्छ,’ पाण्डेले भने, ‘तर जिल्लामा निरन्तर काम गर्नेहरूको मूल्याङ्कन भएन । अन्तिम समयमा टिकट वितरणमा पारदर्शिता देखिएन ।’ उनले पार्टी सभापति रवि लामिछानेको नेतृत्वशैलीप्रति समेत प्रश्न उठाउँदै भनेका छन्, ‘पुराना दलको आलोचना गर्दै नयाँ राजनीतिक संस्कारको कुरा गर्ने तर व्यवहारमा उही शैली दोहोरिने हो भने फरक के रह्यो ?’

उनको बहिर्गमनले रास्वपाको संगठनात्मक स्थायित्व, आन्तरिक लोकतन्त्र तथा आगामी निर्वाचन रणनीतिबारे नुवाकोटमा नयाँ बहस सृजना भएको छ ।

FACEBOOK COMMENTS