काठमाडौं । जेन्जी आन्दोलनको भावना, राष्ट्रिय पहिचान र समकालीन सामाजिक चेतना समेटिएको ‘म नेपाली हुँ, मेरो देश नेपाल’ बोलको गीत लोकार्पित गरिएको छ ।
वरिष्ठ सौन्दर्यविद् सुष्मा महराको लेखन तथा अभिनय रहेको उक्त गीत आज शुक्रबार काठमाडौंको सिटी सेन्टरस्थित फुडकोर्टमा आयोजित कार्यक्रममा औपचारिक रूपमा विमोचन गरिएको हो ।
जेनजी आन्दोलनका सहिद सन्तोष विश्वकर्माकी श्रीमती अम्बिका विश्वकर्मा, सहिद देवकुमार सुवेदीकी श्रीमती पार्वती अधिकारी र सहिद बुद्धिबहादुर तामाङका बुबा विष्णु बहादुर तामाङलगायतको उपस्थितिमा गीत लोकार्पण गरिएको गीतको लेखिका सुष्मा महराले जानकारी दिइन् । सार्वजनिक गरिएको यो नयाँ गीतमा संगीतकार पुरुषोत्तम न्यौपानेको संगीत तथा गायक सत्यराज आचार्यको स्वर रहेको छ ।
सर्जकहरूले सङ्गीतमार्फत नेपाली पहिचान, आत्मसम्मान र नयाँ पुस्ताको चेतनालाई अभिव्यक्त गरेका छन् । विशेषगरी जेनजी आन्दोलनले उठाएका सामाजिक एकता, राष्ट्रिय स्वाभिमान र सकारात्मक परिवर्तनका सन्देशलाई सांगीतको माध्यमबाट आम जनसमक्ष पुर्याउने प्रयास गरिएको महराले जानकारी दिइन् ।
गीतमा अभिनयसमेत गरेकी महराले कला र संगीत समाजलाई जोड्ने प्रभावकारी माध्यम भएकाले सकारात्मक सन्देश फैलाउन यस्तो कृति तयार गरिएको बताइन् । गायक सत्यराज आचार्यले गीतले नयाँ पुस्तालाई आफ्नो पहिचानप्रति गर्व गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपस्थित अतिथिहरूले ‘म नेपाली’ गीतले समकालीन समाजको भावनालाई कलात्मक रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका थिए । लोकार्पित गीत म्युजिक नेपालको युटुव च्यानलमार्फत हेर्न/सुन्न सकिने छ । देश–विदेशमा रहेका नेपालीले सहजै अवलोकन गर्न सकिने बताइएको छ ।

कार्यक्रममा कलाकार, सांगीतिक क्षेत्रका व्यक्तित्व, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

FACEBOOK COMMENTS