काठमाडौँ । नेपाली राजनीतिको रंगमञ्चमा अहिले ‘श्रम’ र ‘माटो’ मा आधारित नयाँ राजनीतिक धार उठेको छ । धरान उपमहानगरपालिकाका पूर्व मेयर र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो कार्यशैली र ‘हर्क वाद’ मार्फत नेपाली राजनीतिको परम्परागत भाषण केन्द्रित शैलीको विकल्प प्रस्तुत गरेका छन् ।
साम्पाङको राजनीति श्रम र उत्पादनमा आधारित छ । उनले केवल भाषणमा सीमित नहुने गरी आफैं ढुङ्गा बोकेर, बिरुवा रोपेर र स्वदेशी उद्योग स्थापना गरेर आफ्नो दृष्टान्त प्रस्तुत गरेका छन् । यसले उनलाई जनतामाझ ‘भुइँमान्छे’ र राष्ट्रवादी नेताको छविमा स्थापित गरेको छ ।
विश्लेषकहरूको अनुसार, साम्पाङको उदय परम्परागत राजनीतिक दलहरूको असफलताको परिणाम हो । राज्यले आधारभूत आवश्यकताहरू पूरा गर्न नसक्दा जनताले यस्ता ‘साझा नेता’ खोजेका हुन् । उनले श्रमलाई प्रतिष्ठासँग जोडेर समाजको तल्लो तहलाई राजनीतिमा अपनत्व महसुस गराउन सफल भएका छन् ।
साम्पाङको व्यक्तिगत सादगी र जनतासँगै काम गर्ने शैलीले उनलाई ‘सेलिब्रिटी’ नेता बनाएको छ । उनी वैदेशिक रोजगारीमा रहेका र स्वदेशमै श्रम गर्ने नेपालीहरूबीच लोकप्रिय छन् । डिजिटल सञ्जालमार्फत उनले ‘डिजिटल सर्वहारा’ र ‘भौतिक श्रमिक’ बीचको दूरी घटाउने काम पनि गरेका छन्।
तर, उनका स्वभावगत पक्षहरू विवादास्पद छन् । जिद्दीपन र ‘म-केन्द्रित’ प्रवृत्तिले दलका अन्य नेता र उम्मेदवारलाई ओझेलमा पारेको पाइन्छ । राजनीतिक सफलताका लागि संस्थागत संरचना र टिमवर्क आवश्यक भए पनि साम्पाङको व्यक्तित्व यसका लागि बाधक बन्नसक्ने चिन्ता समेत व्यक्त गरिएको छ ।

साम्पाङको डिजिटल सक्रियताले उनलाई व्यापक लोकप्रियता दिलाएको छ । तर, कहिलेकाहीँ अत्यधिक वा असान्दर्भिक प्रयोगले उनको राजनीतिक छवि धमिलो भएको पनि देखिन्छ । सामाजिक सञ्जाल र वास्तविक राजनीतिबीच सन्तुलन कायम गर्न नसक्दा विवाद र आलोचना बढेको छ ।

आगामी निर्वाचनमा साम्पाङको उपस्थितिले कोशी प्रदेशको राजनीतिक गणित फेरबदल गर्न सक्ने विश्लेषण भइरहेको छ । उनी स्वतन्त्र मतदाता र असन्तुष्ट मतदातालाई आकर्षित गरेर ‘किङमेकर’को भूमिकामा रहने सम्भावना राख्छन् । कोशी बाहेकका प्रदेशमा उनको प्रभाव कस्तो हुन्छ अहिले नै भन्न सकिने अवस्था रहेको छैन । तर पनि देशका विभिन्न स्थानमा हर्कको श्रम संस्कृतिलाई समर्थन गर्ने जनताको संख्या रहेको छ ।

नेपाली राजनीतिमा श्रम र माटोमा आधारित नयाँ मोडल प्रस्तुत गरेर राजनीतिको मैदानमा होमिएका साम्पाङको असली परीक्षा फागुन २१ मा हुने नै छ । उनको स्वच्छ छवि र जनतासँगको नजिकको सम्बन्ध प्रशंसनीय छ तर, दीर्घकालीन सफलता केवल व्यक्तिगत करिश्मामा भर पर्ने छैन, राजनीतिक परिपक्वता, टिमवर्क र वैचारिक स्पष्टता अनिवार्य छ, जसका लागि उनले अझै सुधार गर्नुपर्ने देखिन्छ ।

FACEBOOK COMMENTS