म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीका सबै उम्मेदवारले छुट्टै बैंक खाता खोलेका छन् ।
एक निर्वाचन क्षेत्र रहेको जिल्लामा चुनावि प्रतिस्पर्धामा रहेका सबै १२ उम्मेदवारहरुले चुनावी प्रयोजनका लागि बैंक खाता सञ्चालनमा ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले चुनावी खर्चलाई पारदर्शी र मितिब्ययी बनाउने उद्देश्यले गरेको निर्णय यहाँका सबै उम्मेदवारहरुले कार्यान्वयन गरेका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए । उम्मेदवारको खर्च, आम्दानी मुख्य निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा खोलिएको खाताबाट गर्नुपर्ने र त्यसको अनुगमन कोष तथा लेखा नियन्त्रणको कार्यालयले गर्ने उनले बताए ।
जिल्लाका उम्मेदवारले बढीमा ३१ लाख सम्म खर्च गर्न सक्ने सीमा तोकिएको छ । निर्वाचनमा आर्थिक मितव्ययीता गर्नका लागि उम्मेदवारले गर्ने खर्चको समेत छुट्टै अनुगमन गर्ने संयन्त्र बनाइएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख रामप्रसाद शर्माले बताए ।
कार्यालयका प्रमुख शर्माको संयोजकत्वमा खर्च आचारसंहिता अनुगमन समेत भइरहेको छ । भड्किलो खर्च रोक्नका लागि आयोगले पहिलो पटक छुट्टै खाता खोल्ने व्यवस्था मिलाएको छ । म्याग्दीमा निर्वाचन आचार संहिता सम्बन्धी पाँच वटा लिखित र चार वटा मौखिक उजुरी परेका छन् ।

उजुरीको विषयमा सम्बन्धीत उम्मेदवारलाई सचेत बनाईएको आचार संहिता अनुगमन समितिका सदस्य सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए ।

जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि ८२ मतदान स्थल, एक सय २० वटा मतदान केन्द्र ८६ हजार तीन सय ९७ मतदाता कायम भएका छन् ।

जिल्ला कारागार शाखा र कर्मचारी मिलन केन्द्रमा दुई वटा अस्थायी मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी बिमल गौतमले जानकारी दिए ।

निर्वाचनमा खटिने कर्मचारीहरु छनौट गरेर शुक्रबारदेखि नियुक्तिपत्र वितरण थाललिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि खटिने सुरक्षाकर्मी र अनुगमनकर्ता बाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी र स्वयंसेवक गरी जिल्लामा एक हजार ७४ जना कर्मचारी परिचालन हुने जनाईएको छ ।

निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि मतदान केन्द्रहरुको अनुगमन गरी निर्वाचन लक्षित एकिकृत जिल्ला सुरक्षा रणनीति तयार गरी सुरक्षा व्यवस्थापनको काम गरिएको प्रमुख जिल्ला अधिकारी रबीन्द्र आचार्यले जानकारी दिए ।
उनले मनोनयन दर्तादेखि निर्वाचन प्रचार प्रसार, मौन अवधि, मतदान, मतगणना र निर्वाचित उम्मेदवारको बिजयी उत्सव सम्मका कार्यक्रमलाई लक्षित गरी जिल्लामा रहेका सुरक्षा निकायहरुबिच आवश्यक समन्वय र सहकार्यमा जिल्लामा मजबुत सुरक्षा व्यवस्था मिलाईएको जानकारी दिए ।
FACEBOOK COMMENTS