काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार (फागुन १८) मध्यरातबाट चुनावी प्रचारप्रसार गर्न पाइँदैन ।
मध्यरातपछि विशेष आचरण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहितको दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणको व्यवस्था गरिएको छ । यो राजनीतिक दलका पदाधिकारी, उमेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने हुन्छ ।
यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा–सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन ।
मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको ३०० मिटरवरिपरि राखिएका राजनीतिक दल वा उमेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा जनाइएको छ ।
ल्:द्य द्यबलप
कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन ।

“सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने,” दफा १७ को (घ) मा भनिएको छ ।

अचारसंहितको दफा १८ मा मतदानको दिन पालना गर्नुपर्ने आचरण उल्लेख छ । जसमा मतदान केन्द्रमा राजनीतिक दल वा उमेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन नहुने उल्लेख छ ।

मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उमेदवारको पहिचान देखिने एकै किसिमको सांकेतिक पोसाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने भनिएको छ ।

कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने व्यवस्था छ ।

तर, हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपांगता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने जेष्ठ नागरिकजस्ता मतदाताका लागि निर्वाचन अधिकृतले अनुमति दिएको सवारीसाधन प्रयोग गर्न बाधा नपर्ने जनाइएको छ ।
मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने आचारसंहितामा उल्लेख छ ।
FACEBOOK COMMENTS