काठमाडौँ । अमेरिका-इजरायल र इरानबीचको युद्ध आज चौथो दिनमा प्रवेश गरेको छ । अमेरिका र इजरायलले इरानमाथि लागातर आक्रमण गरिरहेका छन् भने इरानले पनि जवाफी आक्रममण गरिरहेको छ । अहिलेसम्म युद्धको विश्लेषण गर्दा मध्यपूर्व भयानक युद्धतर्फ अघि बढिरहेको देखिएको छ ।
आफूमाथि लगातार आक्रमण जारी रहेका बेला इरानले पनि सशक्त जवाफी आक्रमण गरिरहेको छ । इरानले इजरायलसहित, युएई, साउदी अरेबिया, कतार, कुवेत, बहराइनलगायतका देशमा रहेका अमेरिकी एयरबेस, दुताबास र अमेरिकासँग सम्बन्धित स्थललाई निशाना बनाएको छ ।
यसै क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा रहेका अमेरिकी नागरिकलाई सकेसम्म छिटो त्यहाँबाट बाहिरिन आग्रह गरेका छन् । उनले इरानविरुद्ध अझ ठूलो आक्रमण बाँकी रहेको चेतावनी दिएका छन् । ह्वाइट हाउसमा दिएको वक्तव्यमा ट्रम्पले इरानसँगको युद्ध ४-५ हप्ता चल्न सक्ने, आवश्यक परे अझ लम्बिन सक्ने बताएका छन् ।
उनका अनुसार अमेरिकी सेना अहिले इरानमा ठूलो स्तरको सैन्य कारबाहीमा संलग्न छ र विश्वकै सबैभन्दा ठूलो सैन्य शक्ति प्रयोगमा ल्याइएको छ । ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सुरु नगर्न दिएको अमेरिकी चेतावनी बेवास्ता गरेको आरोप लगाउँदै उक्त कार्यक्रम विश्व सुरक्षाका लागि खतरा बन्दै गएको बताएका छन् ।
अलजजिराका अनुसार अमेरिका र इजरायलले मिलेर हालसम्म इरानका एक हजारभन्दा बढी स्थानमा आक्रमण गरिसकेका छन् । सुरुका ३० घण्टामा मात्र दुई हजारभन्दा बढी बम खसालिएको जनाइएको छ । हालसम्म ५५५ जनाको मृत्यु भएको र ७०० भन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ ।

फेब्रुअरी २८ मा सुरु भएको युद्धको पहिलो दिनकै बमबारीमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीसहित इरानका ४० भन्दा बढी वरिष्ठ अधिकारीहरुको मृत्यु भएको थियो । त्यसको दुई दिनपछि उनकी पत्नी मंसूरेह खोजस्तेह बघेरजादेहको पनि उपचारका क्रममा निधन भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन् । उनी दुई दिनअघि भएको संयुक्त आक्रमणमा घाइते भएकी थिइन् ।

यसबीच कुवेतमा अमेरिकाका तीन वटा एफ–१५ई लडाकु विमान दुर्घटनामा परेका थिए। अमेरिकी सेनाका अनुसार कुवेती वायु रक्षा प्रणालीले ती विमानलाई शत्रु ठानी निशाना बनाएको थियो। घटनामा सबै अमेरिकी पाइलट सुरक्षित रहेका जनाइएको छ ।

मध्यपूर्वको तनाव बढ्दै जाँदा क्षेत्रीय र विश्व राजनीति झन् जटिल बन्दै गएको विश्लेषण गरिएको छ।

FACEBOOK COMMENTS