काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोल प्रसाद अर्याल (डीपी) ले सञ्चारकर्मीहरूसँग गरेको एउटा सामान्य कुराकानीको विषयलाई लिएर राजनीतिक वृत्तमा अनेक आशङ्काहरू गर्न थालिएका छन् ।
रास्वपाबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा उम्मेदवार रहेका अर्यालले आफू विजयी भएपछि सञ्चारकर्मीहरूलाई दिएको प्रतिक्रियामा समावेश बालेन साहको विषयलाई लिएर विभिन्न कोणबाट समाचारहरू आइहेका छन् । उनको उक्त अभिव्यक्तिलाई कतिपयले त रास्वपा फुटाउने खेल सुरू भएको अर्थमा समेत चर्चा गरिरहेका छन् ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’बीच भएको सात बुँदे सहमति कार्यान्वयनबारे सञ्चारकर्मीहरूको जिज्ञासामा उपसभापति अर्यालले भनेका थिए– ‘त्यो सम्झौतामा के लेखिएको छ, अब मैले नै एकपटक हेर्नुपर्छ, मलाई सबै कण्ठ छैन । तपाइँले भनेको कुरा यदि लेखिएको रहेछ भने त्यहाँ जे लेखिएको छ त्यही हुन्छ ।’
यही अभिव्यक्तिलाई बङ्ग्याएर विभिन्न सञ्चारमाध्यमहरूले बालेनलाई प्रधानमन्त्री बन्न नदिन डीपी अर्याल लागे भनेर समाचार सम्प्रेषण गरे । तर, अर्यालले आफ्नो अभिव्यक्ति मिडियाले बुझेको अर्थमा नभइ बालेनलाई प्रधानमन्त्री बनाउने थप प्रतिबद्धता भएको बताएका छन् ।
दुई नेताबीच भएका सहमतिलाई पार्टीको आन्तरिक विधि र प्रक्रियामार्फत अघि बढाउने सन्दर्भमा आफूले उक्त अभिव्यक्ति दिएको प्रष्ट पार्दै उनले सम्पूर्ण निर्वाचन परिणाम आइसकेपछि सबै सांसदहरू, पार्टीका नेताहरू, स्वयम् सभापति र वरिष्ठ नेताहरू बसेर छलफल गरी केन्द्रीय समितिबाट पारित गरेर उक्त सहमति कार्यान्वयनमा लगिने स्पष्ट गरेका छन् ।

‘निर्वाचित भएर उम्मेदवार र नेताहरू आउनुहुन्छ, वरिष्ठ नेताज्यू, सभापतिज्यूहरू र पार्टीको केन्द्रीय समिति छ । त्यसपछि छलफल होला, संसदीय दल बन्छ त्यसपछि त्यहाँबाट हुँदै जाने निर्णयहरूलाई हामी सबैले मान्नुपर्छ,’ उनले भनेका छन् ।

रास्वपा इमानदार पार्टी भएको चर्चा गर्दै उनले बालेनलाई प्रधानमन्त्री बनाउने सहमति अक्षरश: पालना हुनेमा दृढ विश्वास व्यक्त गरेका छन् । तत्कालीन समयमा धेरै सुझबुझका साथ सभापति लामिछाने र वरिष्ठ नेता साहबीच सात बुँदे सहमति भएको भन्दै उनले कार्यान्वयनमा एक इञ्च पनि दायाँ–बायाँ नहुने स्पष्ट गरेका छन् ।

‘राजनीतिमा इमानदारिता बहुत महत्वपूर्ण हुन्छ । किनकि राजनीतिमा गरिएका कमिटमेन्टहरू जनताका लागि हुन्छ,’ उनले भने, ‘पक्कै पनि वरिष्ठ नेता र पार्टी सभापति बसेर तत्कालीन समयमा गरिएको सहमति धेरै सुझबुझका साथ भएको हो । त्यसमा हामी पनि साक्षी छौँ । त्यसकारण त्यहाँ जे सहमति गरिएको हो त्यो अक्षरश: पालना हुन्छ । त्यसमा एक इञ्च पनि दायाँ–बायाँ हुँदैन ।’ उनले पार्टीको इमानदारिता र मूल्यमान्यतामा आँच आउन नदिन पनि उक्त सहमति कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएका छन् ।

रास्वपा सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन साहबीच गत पुस १३ गते विभिन्न विषयमा सात बुँदे सहमति भएको थियो । फागुन २१ को निर्वाचलाई लक्षित गरी भएको त्यस सहमतिमा पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन साहलाई बनाउने उल्लेख छ ।

तर, देशको पक्षमा आएको जनादेशलाई तिरबितर गर्ने उद्देश्यसहित उपसभापति अर्यालको अभिव्यक्ति बङ्ग्याइनु राजनीतिक अपराध हुने जानकारहरू बताउँछन् । उनले दिएको सुझबुझपूर्ण लोकतान्त्रिक र कुटनीतिक जवाफलाई बङ्ग्यार बालेन साहविरोधी नेताका रुपमा चित्रण गर्न खोजिएकोमा पनि आम नागरिकको तहबाट आलोचना भइरहेको छ ।
नेताहरूबीच भएको सम्झौतालाई पार्टीको विधि र प्रक्रियाले पारित गर्नुपर्छ भन्नु कसैको विरोध वा समर्थन नहुने रास्वपाकै नेताहरू बताउँछन् ।
FACEBOOK COMMENTS