काठमाडौँ । न्युजील्यान्डकी पूर्व प्रधानमन्त्री जासिन्डा अर्डर्न अष्ट्रेलियामा बसाइँ सरेपछि न्युजील्यान्डबाट प्रतिभाशाली जनशक्ति विदेश जाने क्रम अर्थात् ‘ब्रेन ड्रेन’को विषय फेरि चर्चामा आएको छ ।
अर्डर्नको कार्यालयका अनुसार उनी र उनका परिवार हाल अष्ट्रेलियाको सिड्नी सहरमा बसाइँ सरेका छन् । उनीहरू सिड्नीको उत्तरी समुद्री किनार क्षेत्रतर्फ घर खोज्दै गरेको देखिएपछि यो विषय सार्वजनिक भएको थियो ।
विशेषज्ञहरूका अनुसार अर्डर्नको विदेश बसाइँ सर्ने निर्णयले न्युजील्यान्डबाट बढ्दो रूपमा जनशक्ति बाहिरिने समस्यालाई थप उजागर गरेको छ । न्युजील्यान्ड अहिले कमजोर आर्थिक वृद्धि, बढ्दो जीवनयापन खर्च र आवास अभावजस्ता समस्यासँग जुधिरहेको छ ।
तथ्यांकअनुसार गत वर्ष मात्रै ६६ हजारभन्दा बढी न्युजील्यान्डका नागरिक विदेश गएका थिए । औसतमा हेर्दा दैनिक करिब १८० जना नागरिक देश छाडिरहेका छन् । केही नागरिक विदेशबाट फर्किए पनि करिब ५३ लाख जनसंख्या भएको देशका लागि यो संख्या निकै ठूलो मानिन्छ ।
विशेषज्ञहरूका अनुसार युवाहरू विशेष गरी विदेश जाने प्रवृत्ति बढ्दो छ । धेरै युवाले विदेशमा काम गर्ने अनुभव लिन चाहन्छन् र कतिपय स्थायी रूपमा त्यहीँ बस्ने निर्णय गर्छन् । पछिल्ला वर्षहरूमा न्युजील्यान्डमा बेरोजगारी दर बढेको छ । कोरोना महामारीपछि अर्थतन्त्र अपेक्षाअनुसार सुधार हुन सकेको छैन । त्यस्तै, तलब वृद्धि पनि महँगीको गतिसँग मेल खान सकेको छैन । खाद्यान्नको मूल्य विकसित देशहरूमध्ये सबैभन्दा महँगोमध्ये एक मानिन्छ । साथै घरको मूल्य र भाडा पनि निकै बढेकाले नागरिकलाई आर्थिक दबाब परेको छ ।

न्युजील्यान्डका धेरै नागरिक अष्ट्रेलियामा बसाइँ सर्ने गरेका छन् । अनुमानअनुसार विदेशमा बस्ने न्युजील्यान्डका करिब आधा नागरिक अष्ट्रेलियामै रहेका छन् । अष्ट्रेलियामा कामको अवसर, राम्रो तलब र आवासको सुविधा अपेक्षाकृत राम्रो भएकाले त्यहाँ जाने क्रम बढेको बताइन्छ ।

न्युजील्यान्डका राजनीतिज्ञहरूका अनुसार यसले धेरै परिवारलाई अलग पार्ने अवस्था सिर्जना गरेको छ । कतिपय अभिभावकका सन्तान विदेश गएका छन् भने कतिपय दक्ष जनशक्ति राम्रो पारिश्रमिकका लागि अन्य देशमा काम गरिरहेका छन् ।

यस वर्ष हुने आम निर्वाचनलाई ध्यानमा राख्दै विभिन्न राजनीतिक दलहरूले यो समस्याको समाधानबारे आफ्ना योजना प्रस्तुत गरिरहेका छन् । केही दलले रोजगारी सिर्जना र घर निर्माणमा लगानी बढाउने प्रस्ताव गरेका छन् भने केहीले आप्रवासन नीतिमा परिवर्तन गरेर श्रम बजारको दबाब घटाउने सुझाव दिएका छन् । सरकारका प्रतिनिधिहरू भने यो समस्या नयाँ नभएको र महामारीपछि देखिएको आर्थिक प्रभावका कारण अहिले अझ बढेको बताएका छन् ।

केही विज्ञहरू भने विदेश जाने क्रमलाई पूर्ण रूपमा नकारात्मक रूपमा नहेर्नुपर्ने बताउछन् । उनीहरूका अनुसार विदेश गएर फर्किने नागरिकले नयाँ अनुभव, सीप र अन्तर्राष्ट्रिय सम्बन्ध ल्याउने भएकाले त्यसले देशको विकासमा पनि योगदान दिन सक्छ ।

पूर्व प्रधानमन्त्री अर्डर्नले भने २०२३ मा राजनीतिबाट टाढा भएपछि केही समय अमेरिकास्थित एक विश्वविद्यालयमा अध्ययन तथा अनुसन्धानसँग सम्बन्धित काम गरेकी थिइन् । उनको कार्यालयका अनुसार परिवार केही वर्ष यात्रामा रहेपछि हालका लागि अष्ट्रेलियालाई बसोबासको आधार बनाउने निर्णय गरिएको हो । साथै यसले न्युजील्यान्डमा परिवारसँग समय बिताउन पनि सहज हुने बताइएको छ ।
४५ बर्षिय अर्डर्न २०१७ देखि २०२३ सम्म न्यूजील्याण्डको प्रधानमन्त्री बनेकी थिइन् ।
FACEBOOK COMMENTS