काठमाडौं । बालेनलाई केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाले ‘पूर्व र्यापर’ भनेर लेखे । यो तथ्य चाहिँ सही होइन । उनी वर्तमानमा पनि उत्तिकै सक्रिय ‘हिपहप गायक’ हुन् ।
ठीक दुई महिनाअघि उनले ल्याएको गीत ‘आम नेपाली बुवा’ युट्युबमा रिलिज भैसकेको छ ।
फिल्म ‘झरीपछिको इन्द्रेणी’ मा समावेश यो गीत अहिले पनि उत्तिकै चर्चित छ । प्रतिनिधिसभा चुनावको प्रचारको बेला उनका प्रशंसकले यो गीतमाथि लाखौं भिडियो बनाएका छन् ।
गायक बालेनका प्रशंसकलाई नयाँ खबर छ ! बालेनका ३ गीत चाँडै आउने तयारीमा छन् । विभिन्न समयमा आइसकेका तर चर्चा नभएका गीतलाई ‘रि–मास्टर’ गरेर बालेनको युट्युब च्यानलमा ल्याउन लागिएको हो ।
बालेन निकट स्रोतले अनलाइनखबरसँग ती तीन गीतलाई चाँडै ल्याउन लागिएको जनाएको छ । जसमा सन् २०२१ मा स्पोटीफाईमा आएको ‘माया’ छ, जसमा बालेन र त्रिशला गुरुङको स्वर छ ।
४ वर्षअघि युट्युबमा अडियो भर्सनको रुपमा आइसकेको रचना दाहालसँगको गीत ‘सबैलाई हतार छ’ र ११ वर्षअघि बालेनकै युट्युब च्यानलमा अडियो भर्सनमा आएको ‘जय महाकाली’ लाई पनि ल्याउने तयारी छ ।
‘यी सबैलाई रि–मास्टर गरेर ल्याउन लागिएको छ । चाँडै यी गीत दर्शक तथा श्रोतामाझ आउनेछन्’ स्रोतले भन्यो ।

काठमाडौंका पूर्वमेयर रहेका ३५ वर्षिय बालेन कान्छा प्रधानमन्त्री बन्ने तयारीमा छन् । राजनीतिसँगै अहिले पनि उनी हिप–हप क्षेत्रमा सक्रिय छन् । उनका ‘बलिदान’ र ‘साभेज’ जस्ता गीतले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएका छन् ।

विश्वका प्रमुख महानगरहरूको संगठन वल्र्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिसेससँगको एक अन्तर्वार्तामा बालेनले संगीतलाई युवापुस्तालाई देशका गम्भीर मुद्दामा सचेत र संलग्न गराउने माध्यमका रूपमा प्रयोग गरेको बताएका थिए ।

FACEBOOK COMMENTS