काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिदै थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
कांग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने मिति तय भएपछि थापाले राजीनामा दिएका हुन् । यद्यपी राजीनामा अझै सार्बजनिक गरिएको छैन ।
यसअघि थापाले राजीनामा दिन गरेको प्रस्तावप्रति उपसभापति शर्माले राजीनामा नदिन सुझाव दिएका थिए ।
अब सभापति थापाको राजीनामाको स्वीकृत गर्ने नगर्ने निर्णय केन्द्रीय समितिले गर्ने छ । कांग्रेसको विधानमा केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिमार्फत केन्द्रीय कार्यसमितिमा राजीनामा प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । काँग्रेसको विधानको धारा २६ मा केन्द्रीय सभापतिको राजीनामाको व्यवस्था गरिएको छ ।
केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकृत गरेमा उपसभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्ने र छ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिने विधानमा व्यवस्था रहेको छ ।

गत पौष २७ गतेदेखि ३० गतेसम्म भएको कांग्रेस विशेष महाधिवेशनमा थापा निर्विरोध सभापति बनेका थिए । थापाको नेतृत्वमा नयाँ समिति निर्वाचित भएपछि विवादका बीच निर्वाचन आयोगले मान्यता दिएको थियो । तर संस्थापन पक्षबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन अवैधानिक भएको भन्दै दायर भएको रिट सर्वोच्च अदालतमा सुनुवाईकै क्रममा रहेको छ ।

FACEBOOK COMMENTS