काठमाडौँ, भदौ ८ – प्रहरीले प्रतिबन्धित लागूपदार्थ अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर लोलाङ हाइटबाट त्रिवेणी नगरपालिका–१, जाजरकोटका २२ वर्षीय दिलिप विश्वकर्मा र भीमेश्वर नगरपालिका–६ की १८ वर्षीय प्रमिला राउतलाई साढे ६ केजी अफिमसहित पक्राउ गरेको हो ।
बरामद अफिम जाजरकोटबाटै प्रतिकेजी १ लाख ५० हजारका दरले किनेर ल्याएको पनि खुलेको छ । काठमाडौंमा ल्याएर ८ लाख प्रतिकेजीका दरले अफिम विक्री गर्न लागिएको अवस्थामा प्रहरीले सूचना पाएको थियो ।
पक्राउ परेका विक मूख्य अभियुक्त रहेको र उनले कारोबारमा संका हुने देखेर बच्न राउतलाई साथमा लिएको प्रहरीको आशंका छ । राउतले विकलाई आफूले तिहारमा टिका लगाइदिने गरेको पनि बताएकी छन् । अफिम खरिद गर्न आउने अर्को गिरोह भएकोले त्यसको खोजी भइरहेको महाशाखा प्रमुख एसएसपी दिपक थापाले बताए ।
बरामद अफिम हेरोइन बनाउन ल्याइएको पनि अनुसन्धानमा संलग्न अधिकारीले बताए । अफिमको चोप संकलन गरेर ल्याइएको पदार्थ प्रशोधन गर्दा हेरोइन बन्छ ।
FACEBOOK COMMENTS