बुटवल । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा संलग्न दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
खत्री नर्सिङ होमका सञ्चालक डा डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा सतिष रुपाखेतीलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले ती चिकित्सक आफै प्रहरीमा उपस्थिति भएको बताए । मृतकका पति प्रकाश पाण्डेले आर्थिक लाभको उद्देश्यले चिकित्सकहरूले गम्भीर लापरबाही गरेको आरोप लगाउँदै डा खत्री र रुपाखेतीसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।
दुई चिकित्सकबाहेक जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर तथा इन्दु लेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेमाथि पनि अनुसन्धान र कारबाहीको माग गर्दै बुटवल स्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको थियो।
बस्नेत, घर्ती र पाण्डेलाई मंगलबार बिहान नै पक्राउ गरिएको प्रहरीले जनाएको छ। हिजो आफन्त चिकित्सक लापरबाहीले मृत्यु भएको आरोप उपचार गरेका तीन वटा संस्था संस्थामा तालाबन्दी गरेका थिए।
