काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएको विषयमा टिप्पणी गरेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा नेकपा स्थापना दिवसको कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै उनले गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरेका बताएका हुन् । ’उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो,’ उनले भने ।
यसअघि आजै पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपो बेबी, नेपो किड्स, करप्सन भन्नेहरू नै नेपो बेबी, नेपो किड्स रहेको देखिन थालेको बताएका थिए ।
’अस्ति नेपो बेबी, नेपो किड्स, करप्सन भन्नेहरू अब त ती नेपो बेबी र किड्स को रहेछन् भन्ने देखिन थाल्यो नि ! अब त जनताले बुझ्ने दिन छिट्टै आउँछ जस्तो लाग्या छ,’ उनले भनेका थिए ।
पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूले नेपो बेबी, नेपो किड्स भनेर सुधन गुरुङलाई भन्नुभएको हो ? भन्ने प्रश्नमा उनले ’होइन–होइन’ भन्ने जवाफ फर्काए ।
विवादित व्यवसायीसँग व्यावसायिक साझेदार गरेको र सम्पत्ति विवरण लुकाएको आरोप लागेपछि सुधन गुरुङले बुधबार नै गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
निराश कुरा गर्ने मानिस मेरो नजिक नआए हुन्थ्यो भन्ने लाग्छ: प्रचण्ड
