काठमाडौं । गर्भपतन गराउँदा मृत्यु भएकी पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डेको उपचारमा संलग्न डा.सतिश रुपाखेती निलम्बनमा परेका छन् । नेपाल मेडिकल काउन्सिलले रुपाखेतीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
घटनाबारे छानबिन गर्न गठित समितिले गरेको सिफारिसका आधारमा उपचारमा लापर्वाही गरेको भन्दै डा.रुपाखेतीलाई काउन्सिलले तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको हो । समिति गठन भएको तीन दिनमै समितिले तयार पारेको प्रतिवेदन शनिबार सार्वजनिक गरिएको छ ।
निलम्बनमा परेका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.रुपाखेती इन्दुलेखा क्लिनिकमा कार्यरत छन् । इन्दुलेखा र जोनल फार्मेसीलाई सञ्चालनमा तत्कालका लागि रोक लगाएको नेपाल मेडिकल काउन्सिलका सदस्य एवं छानबिन समितिका संयोजक डा.सम्राट पराजुलीले जानकारी दिए ।
नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयलाई उपचारमा लापर्वाही गर्ने मेडिकललाई सञ्चालनमा रोक लगाउन पत्राचार गरिने उनले बताए । काउन्सिलले छानबिन समिति गठन गरेर अनुसन्धान सुरु गरेपछि शुक्रबार परिवारले शव बुझेका थिए । उपचारमा संलग्न चिकित्सकहरूलाई कानुनअनुसार कारबाहीका लागि पीडित परिवारले माग गरिरहेका छन् ।