काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कामाथि सोधेको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको छ।
खड्काले कार्यवाहक सभापति हैसियतमा लगातार विज्ञप्ति जारी गरेपछि अनुशासन समितिले वैशाख २ गते ७ दिने स्पष्टीकरण सोधेको थियो। यसबीचमा सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएको थियो । यसैविच नेपाली काग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छारामलाई निलम्बन गरेको छ ।
कांग्रेसको अनुशासन समिति बैठकले अनुशासन उल्लघंनको कसूरमा स्पष्टीकरण सोधेकोमा उनले पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै निलम्बन गरेको हो ।
सोही विषय स्पष्टीकरण सोधिएपनि उनले दिएको जवाफ चित्तबुझ्दो र सन्तोषजनक नभएकाले अनुशासन उल्लघंन कसूरमा निर्णय नहुन्जेल निलम्बन गरिएको कांग्रेसले जनाएको छ ।
पूर्वकावा सभापति पूर्णबहादुर खड्काको हकमा भने सर्वोच्च अदालतबाट फैसलापछि स्पष्टीकरणको औचित्य नभएको कांग्रेसको ठहर छ ।

यस्ता छन् केन्द्रीय अनुशासन समितिका निर्णयहरू :

१. नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३ वैशाख २ गतेको निर्णयानुसार पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खडकालाई पदीय जिम्मेवारीका सम्बन्धमा स्पष्टीकरण सोधिएकोमा सम्मानित सर्वाेच्च अदालतको मिति २०८३–०१–०४ गतेको फैसलापश्चात् उक्त निर्णयको औचित्य समाप्त भएकोले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गर्दछ ।

२. नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३–०१–०७ गतेको निर्णयअनुसार अनुशासन उल्लघंनको कसुरमा स्पष्टीकरण सोधिएकोमा निजले पार्टी नेतृत्वका विरुद्धमा वद्नियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको कुरालाई स्वीकार गरी त्यस्तो अभिप्राय थिएन भनी मिति २०८३–०१–०८ गतेका दिन दिनु भएको स्पष्टीकरण जवाफ प्रारम्भिक रूपमा हेर्दा सन्तोषजनक एवं चित्तबुझ्दो नदेखिएको हुँदा यस विषयमा थप अनुसन्धान गरी निर्णय तहमा पुग्नु पर्ने देखिएकोले निज पूर्णबहादुर तामाङ (कान्छाराम) लाई सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेलसम्मका लागि पूर्णबहादुर तामाङ (कान्छाराम) लाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गर्दछ ।
३. नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको २०८२–१२–१८ गतेको निर्णयअनुसार २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लघंन गरिएको भनी विभिन्न जिल्लाका जिम्मेवार व्यक्तिहरू र प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा दिनु भएको उजुरीहरूलाई छानबिनबाट वर्गीकरण गर्ने कार्य सम्पन्न भई सकेकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (१) बमोजिम अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरूबाट ७ (सात) दिनभित्र स्पष्टीकरण (सफाई) लिने निर्णय गर्दछ ।