काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति गठन गरेको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा बिहान बसेको केन्द्रीय समिति बैठकले लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको हो ।
रास्वपाले पार्टी स्थापनाको चौथो वर्ष पुगेको अवसरमा आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ । तदर्थ समिति गठन नभएका पालिकाहरुको भेला जेठ ९ गतेका लागि समय निर्धारण गरिएको छ ।
बैशाख २५ गते अघि पालिका समिति गठन भइसकेका स्थानको अधिवेशनको समय जेठ १० गतेका लागि तोकिएको छ ।
जेठ ३ गतेसम्म वडा समिति बनेका स्थानको अधिवेशन जेठ १६ गतेका लागि तोकिएको छ । जेठ १० गतेअघि पालिका समिति बनेकाहरुको हकमा पालिका अधिवेशन जेठ १७ को लागि तोकिएको छ । जेठ २३ र २४ गते जिल्ला अधिवेशन हुने निर्णय यसअघि सचिवालय बैठकले गरेको थियो ।
