काठमाडौं । पछिल्ला केही दिन यता सरकारले विभिन्न आर्थिक मुद्धाको अनुसन्धानका नाममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायी, निर्माण व्यवसायी र बैंकरहरुलाई पक्राउ गरेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्ररबैंकिङ क्षेत्रका नेतृत्वदायी उच्च पदस्थ व्यक्तिहरूलाई फौजदारी कसूरको शैलीमा धरपकड गरिने प्रवृत्तिले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना भई लगानीकर्ता र व्यवसायिक जगतमा नकारात्मक सन्देश प्रवाह गरेको छ ।
आम सर्वसाधारणको निक्षेप संकलन गरि जनविश्वासमा आधारित बैंकको कर्जा असुली गरेको कारणबाट बैंकका कार्यकारी अधिकृतको पक्राउले बैंकिङ्ग क्षेत्रको साखमा नै असर पर्न सक्ने जनाएको छ । बैंकिङ्ग क्षेत्रबाट कर्जा प्रवाह सम्बन्धि गरिने निर्णय क्षमतामा पनि प्रभाव पर्ने तथा लगानी संकुचन हुन गई देशको समग्र आर्थिक प्रणालीमा समेत नकारात्मक असर पर्न जाने जनाएको छ ।
सरकारले प्रारम्भिक अनुसन्धान गर्नु अगावै उद्योगी व्यवसायीलाई पक्राउ गर्ने, मिडिया ट्रायल गर्ने जस्ता कार्य गर्दा सम्बन्धित व्यवसायीहरुको मान प्रतिष्ठामा समेत आँच पुग्न जाने हुँदा यस्ता अनुसान्धान गोप्य रुपमा गर्न र उद्योगी व्यवसायी माथी देवानी दायित्व सिर्जना हुने मुद्धाको छानविन, अभियोजन सोही अनुरुप गर्न महासंघ आग्रह गर्दछ ।
नेपालको संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्थाको स्मरण गराउँदै, समग्र निजी क्षेत्र यसबारे सरकारलाई गम्भीर हुन आग्रह गरेको छ ।

ुविगत करिब चार वर्षदेखि शिथिल बन्दै गईरहेको अर्थतन्त्र हालै बनेको करिब दुई तिहाईको सरकारले लिने नीति र व्यवसायीमैत्री व्यवहारपछि गतिशिल बन्ने अपेक्षा निजी क्षेत्रले गरेको छ । तर, यस्ता गतिविधिले लगानी अभिबृद्धि हुने, लगानीकर्ता सुरक्षित महसुस गर्ने विषयबाट विमुख हुन नपरोस् भन्ने चाहना सहित महासंघ व्यवसायिक आत्मविश्वास बढाउने वातावरण निर्माण गर्न सरकारसंग अपिल गर्दछु जारी विज्ञप्तिमा उल्लेख छ ।
