काठमाण्डौ । नेपालको सूचना प्रविधि अर्थात् आईटी क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै टेकपाइला इनोभेसनले विश्वविख्यात एनसीसी एजुकेशन यूकेसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ ।
यो साझेदारी भएसँगै अब कक्षा ११ र १२ का नेपाली विद्यार्थीहरूले आफ्नै विद्यालयमा अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा, एआई र डेटा साइन्सका पाठ्यक्रम पढ्न पाउनेछन् ।
टेकपाइलाले विद्यालय र कलेजहरूका लागि कुनै थप वित्तीय भार नपर्ने गरी शुन्य लागतमा यो कार्यक्रम ल्याएको हो । कम्पनीले नै दक्ष प्रशिक्षक र अत्याधुनिक सिकाई व्यवस्थापन प्रणाली उपलब्ध गराउनेछ । जसले गर्दा बजेट वा पूर्वाधारको अभावमा कुनै पनि नेपाली विद्यार्थी आधुनिक प्रविधि शिक्षाबाट वञ्चित हुनुपर्ने छैन ।
काठमाण्डौमा आयोजित कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर एवम् प्रविधि विज्ञ चिरञ्जीवी अधिकारीले ‘डिजिटल नेपालको जग: सीपमा आधारित शिक्षा र वैश्विक प्रतिस्पर्धा’ विषयमा प्रस्तुतीकरण गर्दै उहाँले नेपालको आईटी क्षेत्र वार्षिक रूपमा २० देखि २५ प्रतिशतले वृद्धि भइरहे पनि ७० प्रतिशत कम्पनीहरूले दक्ष जनशक्ति नपाएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।


नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटी र एआई शिक्षालाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगत तीन वर्षभित्रमा नेपालको आईटी र एआई सर्भिस व्यवसाय दोब्बर भएको समेत बताउनुभयो । सन् २०२३ मा ७० अर्ब रुपैयाँ बराबरको रहेको यो क्षेत्र अहिले १ सय ४० अर्ब पुगेको निवतर्मान अध्यक्ष मल्ले जानकारी दिए ।

नेपाल टेलिकमका निर्देशक डा. शालिग्राम पराजुलीले राज्यले नीति, पूर्वाधार र मानव संसाधन विकासलाई समानान्तर रूपमा लैजानुपर्ने बताउनुभयो । नयाँ पुस्ताको मुख्य माग रोजगारी, सुशासन र समृद्धि भएकाले ती सबै लक्ष्यलाई आईटी र एआई टूल्स मार्फत छिटो सम्बोधन गर्न सकिने उहाँको भनाइ छ ।

हिसानका महासचिव रामहरि सिलवालले टेकपाइला इनोभेसनको यो महाअभियान भएकाले युवाहरूलाई प्रविधिको उपभोक्ता मात्र नभइ सिर्जनकर्ता बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
डीजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले विश्वस्तरीय आईटी सेवा तथा उत्पादनहरू विकास गरेर नेपाली प्रविधिलाई विश्वमा पुर्याउन महत्त्वपूर्ण जग बसालेको बताए ।