बोर्डबाट २४ कम्पनीलाई ९ अर्ब ११ करोडको आइपीओ बिक्रीका लागि अनुमति
कर्पोरट खबर
9:28 pm, आइतबार, जेठ ३, २०८३
- नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्री अनुमति दिएको छ।
- अनुमति प्राप्त कम्पनीमध्ये १५ जलविद्युत् क्षेत्रका छन्, जबकि बोर्डमा ९८ कम्पनीले अनुमतिका लागि आवेदन दिएका छन्।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।
बोर्डका अनुसार कुल ९ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति प्राप्त भएको हो । त्यसको मूल्य ९ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० छ । अनुमति प्राप्त गरेका कूल कम्पनीमध्ये १५ वटा जलविद्युत् कम्पनी रहेका छन् ।
नेपाल स्टक एक्सचेञ्जमा १०३ जलविद्युत् कम्पनी शेयरमा सूचीकृत भई कारोबार भइरहेका छन् । बोर्डबाट अनुमति पाउने र अनुमतिको प्रतिक्षामा रहेका कम्पनीमा पनि जलविद्युत्का बढी छन् । अनुमति पाएका कम्पनीमा ७ वटा उत्पादन तथा प्रशोधन क्षेत्रका छन् ।
विकास बैंक र होटल एवं पर्यटन क्षेत्रका एकरएक कम्पनी छन् । बोर्डमा कुल ९८ वटा कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएका छन् । त्यसमा होटल तथा पर्यटन क्षेत्रका १८, जलविद्युत्का ३२, लगानीका पाँच कम्पनी छन् । यस्तै, उत्पादन तथा प्रशोधनका २६, माइक्रो इन्स्योरेन्सका तीन, अन्य समूहका १४ कम्पनी छन् ।