दार्चुला । ‘विद्यालयलाई जिल्लाकै नमुना बनाउनेछु, गाउँका छोराछोरीलाई सहरको भन्दा राम्रो शिक्षा दिनेछु ।’
दार्चुलाको व्याँस गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालय, सुन्सेरा पुग्दा प्रधानाध्यापक बलदेव सिंह धामी प्राय: यही अठोट दोहोर्याइरहन्थे ।
उनका आँखामा विद्यालयको उज्यालो भविष्यको नक्सा हुन्थ्यो, मनमा दार्चुलाका दूरदराजका बालबालिकाको सफलता र व्यवहारमा शिक्षाप्रतिको अथाह समर्पण । तर विडम्बना ! अरूलाई ठूला सपना देख्न सिकाउने ती ‘हेडसर’ आफ्नै सपनाहरूको थुप्रो छाडेर बीचमै अस्ताएका छन् । उनको असामयिक निधनले यतिबेला सिंगो व्याँस गाउँपालिका शोकको बाढीमा डुबेको छ ।
हिजोसम्म विद्यालयको प्राङ्गणमा उनको कडा तर आत्मीय आवाज गुञ्जिन्थ्यो । बिहानै विद्यालय पुगेर विद्यार्थीको अनुहार हेर्दै ‘राम्ररी पढ्नुपर्छ, तिमीहरू नै भोलिको देश हौ’ भन्दै ढाड थुमथुम्याउने हेडसर अब कहिल्यै नफर्कने गरी बिदा भएका छन् । आज सम्पाल माविका कक्षाकोठाका भित्ताहरू मौन छन्, खेलमैदान सुनसान छ र स्टाफरुम निस्तब्ध छ । विद्यालयको हरेक कुला र कुइनेटोले मानौँ आफ्ना प्रिय हेडसरलाई खोजिरहेका छन् ।
शिक्षक मात्रै होइन, अभावका सारथी

बलदेव सिंह धामी केवल एउटा सरकारी विद्यालयका प्रधानाध्यापक मात्र थिएनन्, उनी भोका र गरिब विद्यार्थीका सच्चा अभिभावक थिए । गाउँका कुनै विपन्न विद्यार्थीले शुल्क तिर्न नसकेर पढाइ छुट्ने अवस्था आउँदा उनी आफ्नै खल्तीबाट रकम तिरिदिन्थे । कमजोर विद्यार्थीलाई बिदाको दिन पनि छुट्टै बोलाएर हौसला दिन्थे ।

निधनको खबर फैलिने बित्तिकै विद्यालयमा रोदनको चीत्कार सुनियो । साना बालबालिकाहरू विद्यालयको चौरमा भक्कानिँदै रोइरहेका छन् । एक विद्यार्थीले आँशु पुछ्दै भने, ‘हेडसरले भन्नुहुन्थ्यो– तिमीहरू सफल भएपछि मलाई सबैभन्दा धेरै खुसी लाग्छ । अब हामी सफल हुँदा हाम्रो खुसी हेर्न हेडसर नै हुनुहुन्न ।’ यो वाक्यले अहिले सिंगो गाउँको मन भतभती पोलिरहेको छ ।

पाँच सयको खाताबाट लाखौँको कोष : सम्पाल माविको त्यो ‘स्वर्ण युग’
बलदेव सरले जब सम्पाल माविको नेतृत्व सम्हाले, तब विद्यालयको अवस्था दयनीय थियो । उनी आफैँ गर्वका साथ भन्थे, ‘म आउँदा विद्यालयको चल्ती खातामा जम्मा पाँच सय रूपैयाँ मात्रै थियो, आज लाखौँ रकम पुगेको छ ।’
कागजमा मात्रै योजना बुन्ने र भाषण गर्ने परिपाटीकाविरुद्ध उनी आफैँ पसिना बगाउन मैदानमा उत्रिए । उनकै कार्यकालमा समयको कडा पालना, भौतिक र प्राविधिक क्रान्ति, पारदर्शिता र अनुशासनलगायत विषयमा विद्यालयले थुप्रै ऐतिहासिक फड्को मार्यो ।
पहिले बिहान ढिलो खुल्ने र छिट्टै बन्द हुने विद्यालयलाई उनले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गराए । नियमित अतिरिक्त कक्षा र एसईई मा उत्कृष्ट जीपीए ल्याउनेलाई नगद पुरस्कारको व्यवस्था गरे ।
१८ कोठे पक्की भवनको योजना, आधुनिक आईसीटी प्रयोगशाला, स्मार्ट बोर्ड जडान, र प्रविधिमैत्री कक्षाकोठाको गुरुयोजना (डीपीआर) उनकै नेतृत्वमा तयार भयो ।
७१औँ वार्षिकोत्सव पहिलो पटक भव्य रूपमा आयोजना गरियो । विद्यालय विनियमावली निर्माण, नागरिक वडापत्र, शिक्षक उपस्थिति बोर्ड, अतिरिक्त घण्टी अभिलेख बोर्ड र विद्यार्थीका लागि नि:शुल्क पोशाक उनकै मेहनतका उपज हुन् ।
बाहिर मुस्कान, भित्र षड्यन्त्रको पीडा
सधैँ मुस्कुराउने र अरूलाई ऊर्जा दिने बलदेव सर आफैँभित्र कति ठूलो पीडा र मानसिक तनाव बोकेर बाँचिरहेका थिए भन्ने कुरा उनको अनुपस्थितिमा मात्रै उजागर भएको छ । विद्यालयलाई उज्यालो बनाउन अहोरात्र खटिएका उनले चौतर्फी सहयोग भने पाएनन् ।
जतिजति विद्यालयले प्रगति गर्दै गयो, उति नै उनीविरुद्ध अदृश्य राजनीतिक र सामाजिक षड्यन्त्रका तानाबाना बुन्न थालिएको आभास उनले पाइसकेका थिए । उनले आफ्नै पीडामा लेखेका शब्दहरूले अहिले धेरैको मन चिरिरहेको छ ।
विद्यालयको सानो कमजोरी हुँदा तत्कालै थर्काएर फोन आउने, तर दिनरात रगत–पसिना बगाएर गरेको राम्रो काममा कहिल्यै कसैबाट प्रशंसा र सहानुभूति नपाउने पीडाले उनी भित्रभित्रै गलिसकेका थिए । बाहिर समाजका लागि हाँसिरहेका बलदेवको भित्री संसार कति अन्धकार बनाइएको रहेछ भन्ने तथ्य अहिले खुलेको छ ।
अधुरो गुरुयोजना : अब कसले पूरा गर्ला हेडसरको सपना ?
आज सम्पाल माध्यमिक विद्यालयको प्रधानाध्यापकको कुर्सी खाली छ । तर, त्योभन्दा बढी खाली दार्चुलाका सयौँ विद्यार्थीहरूको मन भएको छ । विद्यालयको घण्टी बज्दा अहिले पनि अबोध बालबालिकाहरू ढोकातिर हेर्छन्– मानौँ हेडसर हातमा फाइल बोकेर मुस्कुराउँदै भित्र पस्नेछन् । तर कठोर र क्रूर यथार्थ यही हो, उनी अब कहिल्यै फर्कने छैनन् ।
उनले बनाएका बालमैत्री शौचालय, विज्ञान र कृषि प्रयोगशाला, हरित विद्यालयको अवधारणा (वृक्षारोपण), प्राविधिक धारको शिक्षा र शिक्षक आवासका योजनाहरू आज टेबुलमा अधुरै थन्किएका छन् ।
‘यति धेरै विद्यालयका लागि बाँच्ने र देशको भविष्य कोर्ने मान्छे आखिर किन यति चाँडै अस्ताए ?’ दार्चुलाको सुस्केराको हावामा अहिले यही एउटा अनुत्तरित प्रश्न तैरिरहेको छ ।
सपना साँच्चै ठूलो थियो बलदेव सर, तर यो स्वार्थी संसारले तपाईंको पसिनाको मूल्य बुझ्न सकेन । सम्पाल माविको प्रत्येक इँट्टा र दार्चुलाको माटोले तपाईंको योगदानलाई इतिहासको पानामा सुरक्षित राख्नेछ ।
अलविदा बलदेव सर, भावपूर्ण श्रद्धाञ्जली !