काठमाडौ । नवनियुक्त प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादनमा हस्तक्षेप नगर्ने र शङ्का उत्पन्न हुने कुनै कार्य आफूबाट नहुने बताएका छन् ।
सर्वोच्च अदालतमा आज साँझ पदभार ग्रहण गरे लगत्तै उनले यस्तो बताए । उनले आफ्नो पहिलो प्राथमिकता स्वतन्त्र न्यायपालिकालाई अक्षुण राख्ने बताए ।
‘न्यायपालिका नेपालको संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता तथा लोकतान्त्रिक शासन व्यवस्थाको एक प्रमुख स्तम्भ हो शर्माले भने, ‘त्यसैले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै मेरो कार्यकालको मूल ध्येय रहनेछ’ उनले भने ।
उनले सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत न्यायपालिकालाई प्रविधिमैत्री बनाउँदै न्यायालयको समग्र डिजिटल रूपान्तरणलाई संस्थागत रूपमा अघि बढाउने बताए ।
उनले न्यायिक सुशासन कायम गर्नका लागि नीतिलाई दृढतापूर्वक अवलम्बन गर्दै न्यायिक क्षेत्रमा हुने कुनै पनि प्रकारका अनियमितता, ढिलासुस्ती, अपारदर्शिता वा कुनै पनि प्रकारका अवाञ्छित गतिविधिप्रति कडा नियन्त्रण गरिने बताए । उनले विचौलिया प्रवृत्तिको प्रभावकारी नियन्त्रण तथा निराकरणका लागि आवश्यक ठोस कदमहरू अघि बढाउने जानकारी गराए ।

शर्माले सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी तथा प्रभावकारी बनाउन आवश्यक कानून परिमार्जन र कार्यविधिको सरलीकरण गरिनेछ र सो को लागि के(कुन कानूनमा सुधार गर्नुपर्ने हो पहिचान गरी सुझाव दिन उच्चस्तरीय समिति गठन गर्ने बताए ।

उनले सहभागिता, सहकार्य र समन्वयको सिद्धान्तलाई कार्यसम्पादनको मूल आधारका रूपमा अवलम्बन गर्दै सोही मान्यताअनुसार कार्य सञ्चालनमा विशेष जोड दिनेछु। यस माध्यमबाट न्यायिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाई न्यायमा पहुँच अभिवृद्धि गर्न प्रयत्न गर्ने जनाए ।