हेटौँडा । युनिलिभर नेपाल लिमिटेडले राडो नेपालसँगको सहकार्यमा हेटौँडा–३ बसामाडीस्थित सिमलथली समुदायमा ‘सरोकारवालाको सहभागितामार्फत वातावरणीय तथा सामाजिक सबलता निर्माण’ नामक कार्यक्रम गरेको छ ।
स्थानीय समुदायको सक्रिय सहभागितामार्फत जल संरक्षण, वातावरणीय संरक्षण तथा सामाजिक सबलीकरणलाई सुदृढ बनाउने उद्देश्यसहित यो पहल सुरु गरिएको हो ।
कार्यक्रमको उद्घाटनका क्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले स्थानीय महिलालाई बिरुवा तथा रुखका बेर्ना हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरणले वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा दिगो विकासप्रति सबै सरोकारवालाको साझा प्रतिबद्धता झल्काएको बताइएको छ ।
उद्घाटन कार्यक्रममा युनिलिभर नेपाल, राडो नेपाल, स्थानीय सरकारी निकाय, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय लाभग्राही गरी करिब ८५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जलवायु परिवर्तनका चुनौतीसँग जुध्न समुदायस्तरमा क्षमता विकास, जल संरक्षण तथा स्थानीय पारिस्थितिक प्रणालीको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको विषयमा विशेष जोड दिइएको थियो ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले समुदाय र व्यवसाय सँगसँगै अघि बढ्नुपर्ने अवधारणामा कम्पनी विश्वास गर्ने बताउँदै यस पहलले दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने विश्वास गरे । उनले नेपालका लागि हितकर हुने कार्य नै युनिलिभरका लागि पनि महत्वपूर्ण हुने उल्लेख गर्दै वातावरणीय तथा सामाजिक प्रगतिमा अर्थपूर्ण योगदान दिन कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताए ।

राडो नेपालका अध्यक्ष कृष्ण धितालले जलवायु जोखिम न्यूनीकरणका लागि समुदाय नेतृत्वमा आधारित पहल अत्यन्त आवश्यक रहेको धारणा राखे । उनले वातावरणीय सबलता एकल प्रयासबाट सम्भव नहुने भन्दै समुदाय, संस्था तथा जिम्मेवार साझेदारबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
