काठमाडौं । प्रतिनिधिसभामा रहेका विपक्षी दलहरूले सरकार र सभामुखले विपक्षी दलप्रति गैरसंवैधानिक कार्य गरेको भन्दै गम्भीर छलफल गरेका छन्।
नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकबीच प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्को उपेक्षा गरेको तथा सभामुख डीपी अर्यालले दलीय भूमिका निर्वाह गरेकाले गम्भीर छलफल गरेको ऐन महरले जानकारी दिए।
छलफलमा एमालेका प्रमुख सचेतक महरसहित कांग्रेसका प्रमुख सचेतक बासना थापा, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र प्रमुख सचेतक खुस्बु ओली सहभागी थिए। बैठकमा प्रधानमन्त्रीद्वारा संसद्को अवमूल्यन गरिएको, गैरसंवैधानिक गतिविधि बढ्दै गएको तथा सरकारले संसदीय मूल्य–मान्यता विपरीत विपक्षी दलको आवाज दबाउन खोजेको विषयमा गम्भीर समीक्षा गरिएको एमालेका प्रमुख सचेतक महरले जानकारी दिए। सभामुख अर्यालले निष्पक्ष भूमिका निर्वाह गर्न नसकी दलीय व्यवहार देखाएको आरोप पनि विपक्षी दलहरूले लगाएका छन्।