काठमाडौं । वैशाखसम्म निर्जीवन बीमा कम्पनीहरूले ४० अर्ब रुपैयाँभन्दा बढीको बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार वैशाख मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले २४ लाख ११ हजार ६६२ बीमालेख बिक्री गरेर ४० अर्ब २९ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
१४ कम्पनीहरूले वैशाखमा मात्रै दुई लाख ४१ हजार ८३५ बीमालेख बिक्री गरेर चार अर्ब एक करोड ४५ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
वैशाख मसान्तसम्म धेरै बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले दुई लाख ६८ हजार ६४४ बीमालेख जारी गरी ५ अर्ब १९ करोड २२ लाख ६३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले चार अर्ब २५ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सले चार अर्ब ३७ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले तीन अर्ब ४९ करोड ४५ लाख १४ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियलले तीन अर्ब ५१ करोड ८३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले तीन अर्ब ४४ करोड ३६ लाख २१ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले तीन अर्ब एक करोड ८५ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्स कम्पनीले एक अर्ब ८१ करोड ५७ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

दि ओरियन्टल इन्स्योरेन्सले दुई अर्ब ५८ करोड ६८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले एक अर्ब १८ करोड ८५ लाख, नेशनल इन्स्योरेन्सले एक अर्ब छ करोड ४५ लाख ८९ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले एक अर्ब ४९ करोड ७६ लाख र सानिमा जिआइसीले दुई अर्ब ३६ करोड २८ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले दुई अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जनको व्यापार गरेका छन् ।

यो अवधिमा चार लघुबीमा कम्पनीहरूले एक अर्ब बढीको व्यवसाय गरेका छन् । चार लाख १८ हजार ९९० बीमालेख जारी गरेर एक अर्ब १० करोड एक लाख ८८ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।
नेपाल माइक्रो इन्स्योरेन्सले २७ करोड ३५ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३१ करोड ११ लाख, स्टार माइक्रो इन्स्योरेन्सले २६ करोड १९ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ३५ करोड ३५ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।