काठमाडौं । लुम्बिनी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको आर्थिक वृद्धिदर २.८७ प्रतिशत रहने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।
प्रतिवेदनअनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा धेरै २९.७६ प्रतिशत रहने अनुमान गरिएको छ । उद्योग क्षेत्रको योगदान १५.३२ प्रतिशत तथा सेवा क्षेत्रको योगदान ५४.९२ प्रतिशत रहने उल्लेख छ ।
जबकी राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्ष २०८१/८२ मा भने आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो ।
प्रतिवेदनले लुम्बिनी प्रदेशको कृषि क्षेत्रमा उत्पादन र खेतीयोग्य क्षेत्रफलमा मिश्रित अवस्था देखाएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रमुख खाद्य बालीले ढाकेको क्षेत्रफल ३.०१ प्रतिशतले घटेको छ भने उत्पादन २.०६ प्रतिशतले कमी आएको छ । पुस मसान्तसम्म फलफूल खेतीको क्षेत्रफल २४.३६ प्रतिशतले घटेको छ । तरकारी र मसलाबाली खेतीको क्षेत्रफल भने क्रमश: ८.३९ प्रतिशत र ९.२० प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा तरकारी उत्पादन १८.९४ प्रतिशत तथा मसलाको उत्पादन १०.५८ प्रतिशतले बढेको छ । फलफूल उत्पादन भने २०.३९ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । पशुपालनतर्फ अण्डा उत्पादन १२.२३ प्रतिशत, मासु उत्पादन ४.०४ प्रतिशत र माछा उत्पादन ३.९१ प्रतिशतले बढेको छ । दूध उत्पादन भने ०.३५ प्रतिशतले घटेको छ । वनजन्य उत्पादनतर्फ काठ उत्पादन २४.४७ प्रतिशत, औषधिजन्य वस्तु उत्पादन १४.०६ प्रतिशत तथा अन्य वनजन्य उत्पादन ५४.३७ प्रतिशतले वृद्धि भएको छ । प्रदेशको कुल खेती गरिएको जमिनमध्ये ४५.०७ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कृषि क्षेत्रमा प्रवाहित कर्जा ३.७९ प्रतिशतले घटेर ५० अर्ब ४२ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ । उद्योग क्षेत्रतर्फ समीक्षा अवधिमा उद्योगहरूको औसत क्षमता उपयोग ५०.४४ प्रतिशत पुगेको छ । गत वर्ष यही अवधिमा यस्तो क्षमता उपयोग ४६.५५ प्रतिशत रहेको थियो ।

यस अवधिमा बियर, तोरीको तेल, चामल, गहुँको पिठो, चाउचाउ, मदिरा, कागज, औषधि, प्लास्टिकका सामग्री, सिमेन्ट तथा फलामे छड उत्पादन बढेको छ । पशुदाना, प्लाइउड, रोजिन तथा बिजुलीको तार उत्पादन भने घटेको छ ।

लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले उद्योग क्षेत्रमा कुल कर्जाको २३.८६ प्रतिशत अर्थात् १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ प्रवाह गरेका छन् । सेवा क्षेत्रतर्फ पर्यटक आगमन १०.४५ प्रतिशतले घटेको छ भने होटलहरूको बसोबास दर १५.७४ प्रतिशतले कमी आएको छ ।
२०८२ पुस मसान्तसम्म प्रदेशभर क, ख, ग र घ वर्गका २ हजार १४८ वटा बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा रहेका छन् । ती संस्थाबाट सङ्कलित कुल निक्षेप २१.४३ प्रतिशतले बढेको छ भने कुल कर्जा प्रवाह २.७२ प्रतिशतले वृद्धि भएको छ ।
बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा ३ खर्ब ९८ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३.७० प्रतिशतले बढी हो । सहकारी क्षेत्रतर्फ बचत तथा ऋण सहकारी संस्थाहरूको कुल पूँजी ३.१५ प्रतिशत, कुल बचत ६.२६ प्रतिशत तथा कुल कर्जा प्रवाह ३.४१ प्रतिशतले बढेको छ ।
पूर्वाधार क्षेत्रतर्फ नारायणघाट–बुटवल सडक योजनाको पश्चिम खण्डमा ७५.४५ प्रतिशत भौतिक प्रगति भएको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६४.४६ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४५.९ प्रतिशत तथा बबई सिँचाइ आयोजनाको प्रगति ७८.७४ प्रतिशत पुगेको जनाइएको छ ।