काठमाडौँ । अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनलाई ठूलो झट्का लागेको छ । कम्पनीको विशाल ‘न्यु ग्लेन’ रकेट परीक्षणका क्रममा प्रक्षेपणस्थलमै विस्फोट भएको हो ।
यो घटना फ्लोरिडास्थित केप क्यानाभेरलको प्रक्षेपण परिसर–३६ मा भएको हो । रकेटको इन्जिन परीक्षण भइरहेका बेला अचानक ठूलो विस्फोट भएको र आकाशमा आगोको विशाल गोलो देखिएको थियो ।
विस्फोट यति शक्तिशाली थियो कि आसपासका क्षेत्रमा रहेका घरहरू समेत हल्लिएको जनाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा आकाश सुन्तलाजस्तै आगोले चम्किएको देखिएको छ ।
ब्लु ओरिजिनले सामाजिक सञ्जालमार्फत परीक्षणका क्रममा प्राविधिक समस्या उत्पन्न भएको जनाएको छ । कम्पनीका अनुसार सबै कर्मचारी सुरक्षित रहेका छन् र घटनामा कोही पनि घाइते भएका छैनन् ।
कम्पनीले ‘हटफायर टेस्ट’ का क्रममा असामान्य अवस्था सिर्जना भएको उल्लेख गर्दै घटनाबारे अनुसन्धान भइरहेको र थप जानकारी चाँडै सार्वजनिक गरिने जनाएको छ । स्थानीय आपत्कालीन निकायले विस्फोटपछि विषालु धुवाँ वा अन्य खतराको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

‘न्यु ग्लेन’ रकेट यसअघि पनि प्राविधिक समस्याका कारण चर्चामा आएको थियो । गत अप्रिलमा इन्जिनमा समस्या आएपछि यसको उडान रोकिएको थियो । त्यतिबेला रकेटले एउटा उपग्रहलाई गलत कक्षामा छोडेको बताइएको थियो । यो ‘न्यु ग्लेन’ रकेटको तेस्रो उडान परीक्षण मानिएको छ । ब्लु ओरिजिनले यही रकेटमार्फत अमेरिकी अन्तरिक्ष निकाय नासाको चन्द्र अभियानका लागि ल्याण्डर प्रक्षेपण गर्ने योजना बनाएको छ ।

जेफ बेजोसको ब्लु ओरिजिन लामो समयदेखि एलन मस्कको स्पेसएक्सलाई चुनौती दिने प्रयासमा रहेको छ । ‘न्यु ग्लेन’ लाई कम्पनीको भविष्यसँग जोडिएको महत्वाकांक्षी परियोजनामध्ये एक मानिन्छ । यो रकेटको नाम अमेरिकाका पहिलो अन्तरिक्ष यात्री जोन ग्लेनको नामबाट राखिएको हो । उनले पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकीका रूपमा इतिहास बनाएका थिए ।