काठमाडौं । नेकपा एमालेले नेताहरुको कार्य विभाजन सँगै प्रदेश र स्थानीय चुनावको तयारी पनि थालेको छ ।
शुक्रबार जारी अपानि–२ मार्फत एमालेले नयाँ अभियान पनि थालेको हो । गत १० जेठमा सम्पन्न सचिवालय बैठकले केन्द्रीय नेताहरुको कार्य विभाजन गरेको थियो ।
अपानिमा उक्त कार्य विभाजन, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सन्देश र स्थानीय तहसम्म नेताहरु परिचालन गरिएको विवरण उल्लेख छ ।
यही अपानि मार्फत प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका निरज आचार्यका अनुसार, आगामी चुनावको तयारी गर्नेगरी पार्टीले अभियान थालेको हो ।
‘मिसन पार्टी जागरण भनेर हामीले स्थानीय तहसम्म नेताहरु परिचालन गरेका छौ,’ आचार्यले भने । उनका अनुसार महानगर र उपमहानगरमा भने वडामा समेत केन्द्रबाटै इन्चार्ज तोकेर नेताहरु पठाइएको छ ।

त्यसरी स्थानीय तहमा जाने नेताहरुमा केन्द्रीय सदस्यदेखि जिल्लाका सिनियर नेता समेत छन् । ‘केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहकार सदस्यहरु, केन्द्रीय आयोगका सदस्यहरु, प्रतिनिधि सभाका उम्मेदवारहरु, प्रदेश र जिल्लाका सिनियर नेताहरु परिचालन गरिएको छ,’ आचार्यले भने ।

पलिका तहमा मिसन पार्टी जागरण भनेर नेताहरुलाई पठाएको एमालेले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रदेश, जिल्ला, जनसंगठन र विभागहरुको जिम्मेवारी तोकेको छ ।