काठमाडौं । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई प्रमुख छाता संस्था कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडीए) बीच मोबाइल उद्योगको विकास तथा विद्यमान चुनौती समाधानका लागि रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ।
आइतबार क्यान महासंघको खुसिबुस्थित केन्द्रीय कार्यालयमा आयोजित संयुक्त छलफलमा मोबाइल क्षेत्रका नीतिगत समस्या, अनधिकृत च्यानलबाट भित्रिने मोबाइल फोन (ग्रे मार्केट) तथा समग्र मोबाइल र हार्डवेयर इकोसिस्टमको व्यवस्थापनबारे विस्तृत छलफल गरिएको थियो।
बैठकमा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारी र एनएमडीएका अध्यक्ष रघु त्रिपाठी ले संयुक्त रूपमा सहकार्यमार्फत नेपाली मोबाइल बजारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन राज्यस्तरमा प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
छलफलमा संस्थागत परिचय तथा कार्यदिशा समन्वय, नीतिगत पैरवी, ग्रे मार्केट नियन्त्रण, मोबाइल इकोसिस्टम नियमन तथा दीर्घकालीन सहकार्यको रोडम्याप निर्माणलगायत विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
कार्यवाहक अध्यक्ष अधिकारीले प्रविधि तथा मोबाइल क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण आधार बनिसकेको उल्लेख गर्दै अवैध आयातका कारण राज्यको राजस्व गुम्नुका साथै वैधानिक व्यवसायीहरू प्रभावित भएकाले त्यसविरुद्ध संयुक्त रूपमा आवाज उठाइने बताए।

त्यस्तै, अध्यक्ष त्रिपाठीले मोबाइल डिभाइस व्यवस्थापन प्रणाली (एमडीएमएस) को प्रभावकारी कार्यान्वयन तथा व्यावहारिक आयात नीतिका लागि क्यान महासंघसँगको सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। बैठकमा दुवै संस्थाका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
