काठमाडौं । ललितपुरको गोदावारी नगरपालिका वडा नं. २ स्थित विशङ्खुनारायण सामुदायिक वन क्षेत्रबाट प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
एक हप्ता अघिदेखि नै ट्याक्सीमा राखेर लागुऔषध ओसारपसार भइरहेको भन्ने सशस्त्र प्रहरीलाई प्राप्त विशेष गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
विशेष सूचनापछि जिल्ला प्रहरी परिसर ललितपुर मातहतको प्रहरी प्रभाग बाडेगाउँ र सशस्त्र प्रहरी बल नेपाल नं. २१ गण हेडक्वार्टर दक्षिणकाली ललितपुरबाट खटिएको संयुक्त टोलीले वन क्षेत्रमा खानतलासी गरेको थियो।
त्यस क्रममा लुकाईछिपाई बिक्री वितरणका लागि राखिएको २१ हजार ६४ पत्ता अर्थात् कुल २ लाख १० हजार ६ सय ४० ट्याब्लेट ‘ट्रामडोल हाइड्रोक्लोराइड क्याप्सुल’ बरामद भएको छ।
लागुऔषध ओसारपसार र बिक्री वितरणको यो कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेको चौँरीदेउराली गाउँपालिका वडा नं. १ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ चङ्गाथली बस्ने ३८ वर्षीय ट्याक्सी चालक सन्त बहादुर तामाङ र ललितपुरको गोदावारी नगरपालिका वडा नं. ४ बस्ने २७ वर्षीया अस्मिता बम्जनलाई पक्राउ गरेको छ।

प्रहरीले लागुऔषध ओसारपसारमा प्रयोग गरिएको बा.प्र. ०१ ००२ ज ८८६३ नम्बरको ट्याक्सीसमेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई अहिले प्रहरी वृत्त सातदोबाटोमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।
