काठमाडौं । नेपालको पहिलो कूटनीतिक पत्रिका द डिप्लोम्याट नेपालले वरिष्ठ पत्रकार गुणराज लुइटेललाई आफ्नो नयाँ सम्पादकमा नियुक्त गरेको छ।
पत्रिकाले पत्रकारितामा उत्कृष्टता, सूचित सार्वजनिक बहस तथा नीतिगत संवादलाई थप सशक्त बनाउने उद्देश्यसहित लुइटेललाई सम्पादकीय नेतृत्वको जिम्मेवारी दिएको जनाएको छ।
तीन दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय लुइटेलले विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा वरिष्ठ सम्पादकीय जिम्मेवारी सम्हालिसकेका छन्। राजनीतिक पत्रकारिता, सुशासन, सार्वजनिक नीति विश्लेषण तथा सम्पादकीय लेखनमा उनको योगदान उल्लेखनीय मानिन्छ।
व्यावसायिक पत्रकारिता, सम्पादकीय स्वतन्त्रता र तथ्यपरक सार्वजनिक बहसप्रतिको प्रतिबद्धताले उनलाई नेपाली सञ्चार क्षेत्रमा स्थापित व्यक्तित्वका रूपमा चिनाएको छ।
द डिप्लोम्याट नेपालले कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक नीति, सुशासन, दिगो विकास, व्यापार तथा क्षेत्रीय सहकार्यका विषयमा केन्द्रित रहेर आफ्नो सम्पादकीय दायरा विस्तार गरिरहेको सन्दर्भमा लुइटेलको नियुक्तिलाई महत्वपूर्ण कदमका रूपमा लिएको छ।

पत्रिकाका अध्यक्षडा. सर्मिला पराजुली ढकालले काठमाडौंको विशालनगरस्थित एम्बेसडर क्लब नेपालको कार्यालयमा आयोजित कार्यक्रममा लुइटेललाई औपचारिक रूपमा स्वागत गर्दै पदभार ग्रहण गराएकी थिइन्।

कार्यक्रममा बोल्दै डा. ढकालले नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलाको गहिरो ज्ञान, व्यापक सम्पादकीय अनुभव र पत्रकारिताप्रतिको समर्पणका कारण लुइटेलको नेतृत्वमा पत्रिकाले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरिन्। उनले नेपालको कूटनीति र ‘सफ्ट पावर’ प्रवद्र्धनमा पत्रिकाले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा समेत राखिन्।

नवनियुक्त सम्पादक लुइटेलले आफूलाई जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गर्दै पत्रिकाको प्रतिष्ठा र प्रभावकारिता अभिवृद्धिका लागि सम्पूर्ण टोलीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए। “द डिप्लोम्याट नेपालको सम्पादकको रूपमा काम गर्ने अवसर मेरा लागि गौरवको विषय हो। पत्रिकालाई अझ समृद्ध र प्रभावकारी बनाउन आफ्नो अनुभव तथा विशेषज्ञता समर्पित गर्नेछु,” उनले भने।
द डिप्लोम्याट नेपालले स्वतन्त्र, सन्तुलित र जिम्मेवार पत्रकारिताको अभ्यास गर्दै कूटनीति, शासन, विकास, आर्थिक सहकार्य तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा विविध दृष्टिकोण प्रस्तुत गर्ने साझा मञ्चको रूपमा आफ्नो भूमिका थप सुदृढ गर्ने जनाएको छ। साथै कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संस्था, शैक्षिक प्रतिष्ठान, थिंक ट्याङ्क, विकास साझेदार तथा निजी क्षेत्रसँगको सहकार्यलाई विस्तार गर्ने लक्ष्य समेत राखेको छ।
द डिप्लोम्याट नेपाल नेपालको पहिलो कूटनीतिक पत्रिका हो। यसले विदेशी मामिला, द्विपक्षीय तथा बहुपक्षीय कूटनीति, आर्थिक तथा व्यापारिक सम्बन्ध र दिगो विकासका विषयमा केन्द्रित सामग्री प्रकाशन गर्दै आएको छ। डिजिटल तथा मुद्रित माध्यममार्फत नेपालका दृष्टिकोण, मूल्य र योगदानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउने यसको उद्देश्य रहेको छ।