काठमाडौं । गोरखपुर भारत–नेपालबीचको आर्थिक सहकार्यलाई थप सुदृढ र प्रभावकारी बनाउन पर्यटन, व्यापार, लगानी, पूर्वाधार विकास तथा रेल कनेक्टिभिटी विस्तारमा विशेष जोड दिइएको छ।
भारतको गोरखपुरमा आयोजित भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६ मा सहभागी उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूले द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउनुपर्ने निष्कर्ष निकालेका हुन्।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल ले नेपाल–भारतबीचको ऐतिहासिक ‘रोटी–बेटी’ सम्बन्धलाई आर्थिक समृद्धि, व्यापार विस्तार, लगानी अभिवृद्धि तथा पर्यटन विकाससँग जोड्नुपर्ने आवश्यकता औँल्याए। खुला सीमा, सांस्कृतिक निकटता र धार्मिक सम्बन्धले दुई देशबीच सहकार्यका व्यापक सम्भावना सिर्जना गरेको उनको भनाइ थियो।
पोखरेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लाई पूर्ण क्षमतामा सञ्चालन गरी नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्नुपर्नेमा जोड दिए। विमानस्थलहरूको प्रभावकारी सञ्चालनले लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार, होटल व्यवसाय तथा लगानी प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए।
उनले लुम्बिनी लाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न नेपाल र भारतका पर्यटन व्यवसायी तथा निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको धारणा राखे। लुम्बिनी, कुशीनगर, बोधगया र सारनाथ लाई समेटेर संयुक्त बौद्ध पर्यटन सर्किट विकास गर्न सके दक्षिण एसियाकै महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य निर्माण गर्न सकिने उनले बताए।

पोखरेलले कृत्रिम बौद्धिकता (एआई), डिजिटल भुक्तानी प्रणाली, सीमा व्यापार, जैविक उत्पादन, नेपाली कफी तथा आयुर्वेदको प्रवद्र्धनमा जोड दिँदै सुरक्षा चुनौती न्यूनीकरण र भारतीय बजारमा नेपाली साना तथा घरेलु उत्पादनले भोगिरहेका समस्याको समाधानका लागि नीतिगत सरलीकरण र सहज बजार पहुँच आवश्यक रहेको बताए।

त्यसैगरी उनले भैरहवास्थित भैरहवा विशेष आर्थिक क्षेत्र मा भारतीय उद्योग तथा लगानी आकर्षित गर्न नीतिगत सुधार, लगानीमैत्री वातावरण र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे। सीमावर्ती क्षेत्रको औद्योगिक सम्भावनालाई उपयोग गर्दै संयुक्त उत्पादन तथा निर्यात प्रवद्र्धनका कार्यक्रम अघि बढाउनुपर्ने उनको सुझाव थियो।

भारत–नेपाल केन्द्र र भारतीय वाणिज्य तथा उद्योग चेम्बर को सहकार्यमा आयोजित कार्यक्रममा अतुल कुमार ठाकुर ले उद्घाटन मन्तव्य दिएका थिए भने आईसीसीआईका को–चेयर कामलेश जैन ले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा नेपालका लागि भारतीय दूतावास का आर्थिक काउन्सिलर डा. सुरेन्द्र थापा, तारानाथ अधिकारी तथा नेपाल उद्योग वाणिज्य महासंघ का प्रतिनिधि कृष्णप्रसाद शर्मा लगायतले नेपाल–भारत आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन निजी क्षेत्रको सक्रिय सहकार्य अपरिहार्य रहेको बताएका थिए।
मञ्चमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसहित नेपाल र भारतका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले व्यापार सहजीकरण, लगानी विस्तार, पर्यटन प्रवद्र्धन तथा रेल कनेक्टिभिटी विकासमार्फत नेपाल–भारत आर्थिक साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।