काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयम, जिम्मेवार र अनुशासित हुनुपर्ने बताएका छन् ।
रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टी स्थापनाको चार वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्त्वपूर्ण जिम्मेवारी रहेकाले पार्टी पङ्क्तिसमेत अनुशासित हुनुपर्ने उनको भनाइ छ ।
“अधिवेशनहरूले नीति र नेतृत्वमा खार्दै लैजान्छ । हामीलाई पनि महाधिवेशनको चटारो छ, हामी बृहत्तर पार्टी निर्माणमा लागेका छौँ र आफैँलाई कसी लगाउनुपर्ने ठाउँमा आएका छौँ । एकबखत हामी धेरै भोकाएका थियौँ, अहिले मोटाएका छौँ, अब हामीले धेरै चिजहरूमा संयम हुनुपर्दछ । हामी संयम हुन सक्यौँ भने पार्टी कमजोर हुँदैन”, महामन्त्री बुर्लाकोटीले भने ।
उनले कुनै एक व्यक्तिका लागि पार्टी स्थापना गरेर पद सृजना नगरिएको भन्दै रास्वपा यो देशका सबै नेपाली नागरिकका लागि भएको र देश निर्माण गरिछाड्ने उल्लेख गरे । बुर्लाकोटीले भने, “हामी सबैकोे योेगदानका कारण पार्टी बनेको हो, हाम्रो राजनीतिक भविष्य खोज्नका लागि पार्टीमा जोडिएको होइन, देशको भविष्य निर्माण गर्न रास्वपामा जोडिएका हौँ, त्यसैले सबै जना तोकिएको जिम्मेवारीमा बस्नुपर्छ ।”
उनले इमानदार कार्यकर्ताका लागि पार्टीले जहिले पनि जिम्मेवारी दिने भएकाले अधिवशेनबाट जिम्मेवारी नपाउने इमानदर र योग्य व्यक्तिलाई विधि बनाएर काम दिइने स्पष्ट पारे ।
