काठमाडौं । नेपाल रत्न तथा आभूषण संघको २०औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनबाट शक्ति कुमार बेगानी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्।
शनिबार सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै बेगानीले सुन, चाँदी तथा बहुमूल्य वस्तुसँग सम्बन्धित व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायमा देखिएका समस्या समाधान तथा व्यवसायीहरूको आवाज सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचनपछि प्रतिक्रिया दिँदै अध्यक्ष बेगानीले वर्तमान कार्यसमितिले व्यवसायीहरूको हितलाई केन्द्रमा राखेर प्रभावकारी ढंगले काम गर्ने बताए। उनले संघलाई अझ सशक्त, सक्रिय र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउने तथा व्यवसायसँग सम्बन्धित नीति, नियम र चुनौतीका विषयमा सरकार तथा सरोकारवाला निकायसँग निरन्तर संवाद र समन्वय गर्ने प्रतिबद्धता जनाए।
बेगानीले संघका अग्रज व्यक्तित्व, व्यवसायी तथा सरोकारवाला निकायहरूसँग नियमित छलफल र परामर्श गर्दै संघलाई संस्थागत रूपमा थप मजबुत बनाउने बताए। उनले सम्पूर्ण व्यवसायीलाई एकताबद्ध गर्दै रत्न तथा आभूषण क्षेत्रको विकास, विस्तार र व्यवसायिक वातावरण सुधारका लागि नयाँ कार्यसमितिले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।