वर्तमान आधुनिक समाजमा मानिसहरूले प्रविधि, यातायात, सञ्चारका सुविधाहरू पर्याप्त मात्रामा पाइरहेका छन्, तर यी सुविधाहरूको बीचमा एउटा गम्भीर समस्याका रूपमा मानिस एक्लिँदै गएको अवस्था बढिरहेको छ ।
पहिलेका समाजका मानिसहरूले आधुनिक समाजमा भएको प्रविधिको सुविधा पाएका थिएनन् । तर, मानिसहरू बीचको सम्बन्ध धेरै नजिक र आत्मीय थियो । छिमेकीहरूमा एकअर्काको दु:ख सुख साटासाट हुने गथ्र्यो ।
परिवारमा समय बिताउने आँगनमा बसेर कुरा गर्ने र सामूहिक गतिविधिमा सहभागी हुने संस्कार थियो । तर, अहिलेका मानिसमा व्यस्त जीवनशैली, सहरमुखी बसाइसराई र प्रविधिको अत्याधिक प्रयोगले मानिसहरूलाई भौतिक रूपमा नजिक तर भावनात्मक रूपमा टाढा बनाइरहेको छ ।
हिजो आज मानिसको जीवनको गति तीव्र बन्दै गएको छ । मानिसहरू काम पढाइ र करियरको दौडमा यति व्यस्त छन् उनीहरूले आफ्नो परिवार र सम्बन्धका लागि समय निकाल्न पनि भ्याउँदैनन् । यसले गर्दा एकअर्काबीच भावनात्मक दूरी बढाएको छ ।
हिजो आज एक्लोपन बुढाबुढीमा मात्र होइन युवा पुस्तामा पनि बढ्दो छ । एक्लोपनले गर्दा यसको प्रभाव मानसिक स्वास्थ्यमा पनि पर्छ । निराशा तनाव र असन्तुष्टिको भावना बढ्न सक्छ त्यसैले सामाजिक सम्बन्धलाई मजबुत बनाउनु आजको आवश्यकताका रूपमा रहेको छ ।

एक्लोपन हटाउने उपायहरू

१. परिवारसँग समय बिताउने : दैनिक केही समय परिवारसँग कुरा गर्ने, खाना सँगै खाने वा अनुभव साटासाट गर्ने बानीले एक्लोपन धेरै घटाउँछ । परिवारका सदस्यहरूसँग नियमित संवाद हुँदा आत्मीयता बढ्छ र मनका कुरा खुलेर राख्न सहज हुन्छ । परिवारबाट प्राप्त हुने माया, साथ र सहयोगले मानसिक रूपमा बलियो बनाउँछ । व्यस्त जीवनशैलीका बीच पनि परिवारका लागि केही समय छुट्याउन सकेमा सम्बन्ध अझ मजबुत बन्नुका साथै एक्लोपनको भावना कम हुँदै जान्छ ।

२. साथीभाइसँग सम्बन्ध बलियो बनाउने : पुराना साथीलाई भेट्ने, फोन गर्ने वा सन्देश पठाउने । नयाँ साथी बनाउने प्रयास पनि गर्न सकिन्छ । साथीभाइसँगको राम्रो सम्बन्धले जीवनमा खुसी र उत्साह थप्ने काम गर्छ । कहिलेकाहीँ सामान्य कुराकानी वा भेटघाटले पनि मन हल्का बनाउँछ । पुराना सम्बन्धलाई निरन्तरता दिनुका साथै नयाँ साथीहरूसँग चिनजान बढाउँदा सामाजिक दायरा फराकिलो हुन्छ र एक्लोपन महसुस हुने सम्भावना कम हुन्छ ।
३. आफ्नो रुचिको काम गर्ने : पढाइ बाहेक चित्र कोर्ने, गीत सुन्ने, लेख्ने, खेलकुद वा कुनै सीप सिक्ने जस्ता गतिविधिले मन व्यस्त र सकारात्मक राख्छ । आफूलाई मन पर्ने काममा समय बिताउँदा तनाव कम हुन्छ र आत्मसन्तुष्टि बढ्छ । नयाँ कुरा सिक्ने वा सिर्जनात्मक गतिविधिमा सहभागी हुँदा आत्मविश्वास बढ्नुका साथै जीवनप्रति सकारात्मक सोच विकास हुन्छ । यसले खालीपन र एक्लोपनको अनुभूतिलाई पनि कम गर्न मद्दत गर्छ ।
४. सामाजिक गतिविधिमा सहभागी हुने : क्लब, समूह, विद्यालयका कार्यक्रम वा सामाजिक कार्यमा सहभागी हुँदा नयाँ मानिससँग भेट हुन्छ र एक्लोपन घट्छ । यस्ता गतिविधिले सामाजिक सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्छन् । विभिन्न पृष्ठभूमिका मानिसहरूसँग विचार आदानप्रदान गर्न पाइने भएकाले नयाँ अनुभव र ज्ञान प्राप्त हुन्छ । समाजसँग जोडिएको महसुस हुँदा आत्मीयता बढ्छ र आफू एक्लो छैन भन्ने भावना विकसित हुन्छ ।
५. मोबाइल र सामाजिक सञ्जालको सन्तुलित प्रयोग : अत्यधिक मोबाइल प्रयोगले झन् एक्लोपन बढाउन सक्छ । त्यसैले समय सीमा तोकेर प्रयोग गर्नु राम्रो हुन्छ । सामाजिक सञ्जालले मानिसहरूलाई जोड्ने काम गरे पनि यसको अत्यधिक प्रयोगले वास्तविक सम्बन्धहरू कमजोर बनाउन सक्छ । लामो समय मोबाइलमा बिताउँदा परिवार र साथीभाइसँग प्रत्यक्ष संवाद गर्ने समय घट्न सक्छ । त्यसैले आवश्यकताअनुसार मात्र प्रयोग गर्ने र वास्तविक जीवनका सम्बन्धलाई प्राथमिकता दिने बानी बसाल्नु उपयुक्त हुन्छ ।
६. व्यायाम र बाहिर हिँडडुल : हिँड्ने, दौडने वा खेल खेल्ने बानीले मन हल्का बनाउँछ र सकारात्मक ऊर्जा दिन्छ । नियमित शारीरिक गतिविधिले शरीर मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । व्यायाम गर्दा शरीरमा सकारात्मक अनुभूति गराउने हर्मोनहरू सक्रिय हुन्छन्, जसले तनाव र चिन्ता कम गर्न मद्दत गर्छ । साथै बाहिर हिँडडुल गर्दा नयाँ वातावरण र मानिसहरूसँगको सम्पर्कले पनि एक्लोपन कम गर्न सहयोग पुग्छ ।
७. आफ्ना भावना खुला रूपमा व्यक्त गर्ने : मनमा कुरा दबाएर राख्नु भन्दा विश्वासिलो व्यक्तिसँग कुरा गर्नु वा लेखेर व्यक्त गर्नु राम्रो हुन्छ । आफ्ना भावना व्यक्त गर्दा मन हल्का हुन्छ र समस्या समाधानका नयाँ उपायहरू पनि भेटिन सक्छन् । कहिलेकाहीँ आफ्ना अनुभव र भावनाहरू अरूसँग साझा गर्दा उनीहरूको साथ, सुझाव र हौसलाले मानसिक राहत दिन्छ । यदि प्रत्यक्ष रूपमा भन्न गाह्रो लाग्छ भने डायरी लेख्ने वा अन्य सिर्जनात्मक माध्यमबाट भावना व्यक्त गर्न सकिन्छ, जसले एक्लोपन कम गर्न मद्दत गर्छ ।
तसर्थ, हामी सामाजिक प्राणी हौँ । हामी एक्लै बाँच्न सक्दैनौँ । भौतिक विकासले जीवनलाई सजिलो बनाएको भए पनि सम्बन्ध र भावनाको महत्व अझ बढाएको छ । त्यसैले हामी सबैले सम्बन्धलाई समय दिनु, संवाद बढाउनु र एक्लोपन घटाउनु आजको महत्वपूर्ण दायित्व हो । वास्तवमा, साँचो खुशी एक्लोपनमा होइन, सँगै बाँच्ने सम्बन्धमा लुकेको हुन्छ ।
यो पनि पढ्नुहोस्–