काठमाडौं । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीमाथि जरिवाना लगाउने सिफारिस गरिएको छ । श्रीलङ्का ए टोलीका खेलाडीलाई धक्का दिएको घटनामा सुर्यबंशीलाई ५० प्रतिशत जरिवानाको सिफारिस गरिएको हो ।
१५ जुनमा भएको खेल टाई भएपछि सुपर ओभरमा श्रीलङ्का ए ले भारत ए लाई पराजित गरेको थियो । सोही खेलका क्रममा दुवै पक्षबीच विवाद भएको हो ।
मैच रेफ्री प्रदीप जयप्रकाशले दुवै देशका क्रिकेट बोर्डलाई पठाएको प्रतिवेदनमा भारत ए का कप्तान तिलक वर्मामाथि पनि ३० प्रतिशत म्याच शुल्क जरिवाना गर्न सिफारिस गरिएको छ । उनले खेलका क्रममा अम्पायरसँग बहस गरेको र टाई भएपछि सुपर ओभर गरिनुपर्ने माग गरेको उल्लेख छ । त्यस्तै श्रीलङ्का ए का विशेन हलाम्बागे माथि ५० प्रतिशत र विकेटकिपर निरोशन डिकवेलामाथि २० प्रतिशत जरिवाना लगाउन पनि सिफारिस गरिएको छ। डिकवेला माथि स्लेजिङ गरेको आरोप छ ।
उक्त खेल टाई भएपछि सुपर ओभरमा श्रीलङ्काले १६ रन बनाएको थियो। जवाफमा भारत ए मात्र ९ रनमै सीमित भयो। हारपछि मैदानमै दुई टोलीका खेलाडीबीच तनाव बढेको थियो।

त्यसै क्रममा श्रीलङ्का ए का विशेन हलाम्बागेले वैभव सूर्यवंशीलाई लक्षित गर्दै ‘यो आइपीएल होइन, खेल सकियो, अब घर जाउ’ भन्ने टिप्पणी गरेका थिए । सो टिप्पणीपछि वैभव आक्रोशित बने र उनले श्रीलङ्का खेलाडीलाई धक्का दिएका थिए । त्यसपछि दुवैबीच भनाभन र धकेलाधकेलको अवस्था बनेको थियो। तर अन्य खेलाडीले बीचमा आएर स्थिति नियन्त्रणमा लिएका थिए ।

प्रतियोगिता सुरु भएदेखि नै केही श्रीलङ्का खेलाडीले वैभवमाथि लगातार टिप्पणी गरिरहेको पनि बताइएको छ । विशेषगरी आइपीएलमा देखिएको प्रदर्शनलाई लिएर समेत कटाक्ष गरिएको थियो ।

ए टोली स्तरका खेलमा आईसीसीका कडा अनुशासन नियम स्वतः लागू हुँदैनन् । यस्तो अवस्थामा अन्तिम निर्णय सम्बन्धित क्रिकेट बोर्ड र अनुशासन समितिले गर्ने गर्छ । हाल यो प्रतिवेदन बीसीसीआई र श्रीलङ्का क्रिकेट बोर्डलाई पठाइएको छ। अब उनीहरूले सिफारिस अनुसार जरिवाना लागू गर्ने वा नगर्ने निर्णय गर्नेछन् ।
प्रतिवेदन अनुसार घटनाबारे कुनै औपचारिक सुनुवाइ भने गरिएको छैन । मैदानमै रहेका अम्पायरहरूको प्रतिवेदनका आधारमा मात्र सिफारिस तयार गरिएको हो ।
यो श्रृङ्खलामा भारत ए, अफगानिस्तान ए र श्रीलङ्का ए बीच खेल भइरहेको छ। वैभव सूर्यवंशी भने राम्रो लयमा देखिएका छैनन् । चार खेलमा उनले जम्मा ११७ रन मात्र बनाएका छन्। उनको उत्कृष्ट प्रदर्शन ४४ रन रहेको छ ।