काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित ’बिजनेस इन्क्युबेसन सर्भिस २०२६’ सम्पन्न भएको छ ।
स्टार्टअप उद्यमीहरूको क्षमता अभिवृद्धि, नवीन सोचको विकास, व्यवसायिक मोडल निर्माण, मेन्टरशिप, नेटवर्किङ तथा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले नेपालको स्टार्टअप इकोसिस्टम विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
कार्यक्रममा कोसी र वाग्मती प्रदेशबाट सहभागी भएका स्टार्टअप टोलीहरूले आफ्ना नवीनतम सोच, प्रविधिमा आधारित समाधान तथा व्यावसायिक योजनाहरू प्रस्तुत गरेका थिए । कार्यक्रमले उद्यमीहरूलाई अनुभवी विज्ञ तथा सफल व्यवसायीसँग प्रत्यक्ष सिक्ने, आफ्नो व्यावसायिक यात्रालाई परिष्कृत गर्ने र बजारसँग जोडिने अवसर प्रदान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुदन झाले स्टार्टअप यात्रा निरन्तर सिकाइ र अनुसन्धानको प्रक्रिया भएको बताए । उनले स्टार्टअपलाई “सिक्ने, सिक्ने र निरन्तर सिक्ने प्लेटफर्म”का रूपमा व्याख्या गर्दै उद्यमीहरूलाई समाजमा प्रभाव पार्ने खालका नवीन विचार विकास गर्न, अनुसन्धानमा आधारित भएर अगाडि बढ्न तथा आफ्ना सिर्जनात्मक सोचलाई व्यवहारमा उतार्न आग्रह गरे ।
यस्तै, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विज्ञ हेमपाल श्रेष्ठले स्टार्टअपले आफ्नो ग्राहक पहिचान, स्पष्ट दृष्टिकोण र प्रभावकारी व्यावसायिक मोडल निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले ग्राहकको आवश्यकता बुझेर काम गर्नुपर्ने, सही बजार पहिचान गर्नुपर्ने र व्यवसाय सफल हुने सम्भावना नदेखिए समयमै उचित निर्णय लिनुपर्ने सुझाव दिए ।

यसैगरी प्रतीक इनोभेसन्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जतिन भुसालले स्टार्टअपहरू सिर्जनात्मक विचार र नवीन समाधानमा केन्द्रित हुनुपर्ने बताए । उनले केवल रोजगारीप्रतिको असन्तुष्टिका कारण मात्र स्टार्टअप सुरु नगरी स्पष्ट उद्देश्य, समस्या समाधान गर्ने क्षमता र दीर्घकालीन सोचका साथ उद्यमशीलतामा लाग्नुपर्ने बताए ।
टिङटिङका सीबीओ सुजन प्रजापतिले सरल विचारबाट पनि सफल उद्यमको सुरुआत गर्न सकिने बताए । उनले नेपाल स्टार्टअपका लागि सम्भावनायुक्त बजार भएको उल्लेख गर्दै उद्यमीहरूले जोखिम लिन तयार हुनुपर्ने, असफलताबाट सिक्दै अघि बढ्नुपर्ने र दीर्घकालीन सहकार्य निर्माण गर्नुपर्ने बताए । उनले नेपालमा कम्पनी दर्ता मुख्य समस्या नभए पनि स्रोत, लगानी र आवश्यक सहयोग प्राप्त गर्नु अझै चुनौती रहेको उल्लेख गरे ।