चितवन । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारस्थित इच्छाकामना गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कुटपिट भएको घटनामा दुई जनालाई पक्राउ गरिएको छ ।
बिहीबार बिहान करिब १०: ३० बजे ठेक्कापट्टा सम्बन्धी विषयमा प्रमुख प्रशासकीय अधिकृत बस्नेतको कार्यकक्षमा छलफल भइरहेका बेला खगेडी खोलाको ठेक्का लिएका मुख्य ठेकेदार लालबहादुर गोलेसँग आएका उनीहरुले वादविवाद गर्दै कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्न व्यक्तिहरू प्रदेश ३-०१-०२३ च ८४६० नम्बरको स्कार्पियोमा फरार रहेको र खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय गजुरी, धादिङले उक्त स्कार्पियोसहित चालक जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका १८ बस्ने ३७ वर्षीय वीरबहादुर मोक्तान (आकाश लामा) र जिल्ला चितवन भरतपुर महानगरपालिका १८ बस्ने २७ वर्षीय ईश्वर पाण्डे (अटल)लाई नियन्त्रणमा लिएको छ । घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।