रुपन्देही। रुपन्देहीको तिलोत्तमा–१३, कोटिहवास्थित टाइगर फरेस्ट होटल प्रालिले वर्षायामलाई लक्षित गर्दै विशेष ‘मनसुन प्याकेज’ सार्वजनिक गरेको छ।
हरियालीले ढाकिएको वातावरण, शान्त प्रकृति र आधुनिक सुविधालाई एकै अनुभवमा जोड्ने उद्देश्यसहित ल्याइएको उक्त प्याकेजले छोटो बिदा, पारिवारिक घुमघाम तथा दम्पती–केन्द्रित बसाइलाई लक्षित गरेको होटलले जनाएको छ।
वर्षा सुरु भएसँगै ग्रामीण तथा अर्ध–शहरी पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटनको चहलपहल बढ्ने अपेक्षा भइरहेका बेला होटलले यसै प्रवृत्तिलाई अवसरका रूपमा प्रयोग गर्ने रणनीति लिएको देखिन्छ। प्राकृतिक वातावरणसँगै लक्जरी सुविधा उपलब्ध गराउने दाबी गर्दै होटलले ‘एकै प्याकेजमा बसाइ, भोजन, स्पा र मनोरञ्जन’ समेटिएको योजना अघि सारेको हो।
होटलका अनुसार मनसुन प्याकेज न्यूनतम दुई जना सहभागीका लागि उपलब्ध हुनेछ। प्रति व्यक्ति करिब ३ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ। प्याकेजअन्तर्गत लक्जरी भिल्ला कोठामा बसाइ, एक छाक भोजन, बिहानको नास्ता, एक बोतल बियर तथा स्पा सेवा समावेश गरिएको छ। होटलले यसलाई ‘उच्चस्तरीय अनुभव, तर सुलभ मूल्य’ को संयोजनका रूपमा प्रस्तुत गरेको छ।
व्यस्त जीवनशैलीबाट केही समय टाढा रहेर परिवारसँग समय बिताउने, विशेष अवसर मनाउने वा साथीभाइसँग छोटो बिदा मनाउने ग्राहकलाई लक्षित गरिएको होटल व्यवस्थापनले जनाएको छ। विवाह वार्षिकोत्सव, जन्मदिन, हनिमुनदेखि सप्ताहन्त गेटअवे सम्मका लागि प्याकेज उपयोगी हुने दाबी गरिएको छ।
होटलका अनुसार वर्षायाममा देखिने हरियाली, चिसो मौसम र शान्त वातावरणले पाहुनालाई मानसिक रूपमा पुनर्ताजगी दिनेछ। प्राकृतिक सौन्दर्यसँग आधुनिक आतिथ्य सेवाको संयोजनमार्फत आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान गर्ने उद्देश्य पनि प्याकेजले बोकेको छ।
यसैबीच, होटल परिसरमा सञ्चालित चौपारी रेस्टुरेन्टले पनि छुट्टै अफर सार्वजनिक गरेको छ। स्थानीय स्वादलाई प्राथमिकतामा राख्दै लोकल कुखुराबाट तयार गरिने चार प्रकारका परिकार करिब २ हजार रुपैयाँमा उपलब्ध गराइने व्यवस्था गरिएको छ। उक्त मूल्यमा तयारी शुल्क समेत समावेश रहेको होटलले जनाएको छ।
होटल व्यवस्थापनका अनुसार दुवै अफर सीमित अवधिका लागि मात्र लागू हुनेछन्। मनसुनलाई केवल मौसमका रूपमा नभई अनुभवमा रूपान्तरण गर्ने उद्देश्यसहित प्याकेज ल्याइएको दाबी गरिएको छ। यसले रुपन्देही क्षेत्रमा बढ्दै गएको आन्तरिक पर्यटन गतिविधिलाई थप गति दिने अपेक्षा गरिएको छ।