काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ सम्पन्न भएको छ।
जेठ २७ गतेदेखि न्यायाधीश तेजबहादुर खड्काको इजलासमा निरन्तर सुनुवाइ भएको यो मुद्दाको बहस मंगलबार सकिएको हो। सुनुवाइ पूरा भएसँगै अदालतले आजै फैसला सुनाउने तयारी गरेको छ।
यो प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लगायत तेस्रो मुलुक पठाइदिने प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरिएको आरोप छ। लामो समयदेखि विचाराधीन रहेको यो मुद्दालाई अदालतले हाल प्राथमिकताका साथ सुनुवाइ अघि बढाएको थियो।
यसअघि २०८० जेठ १० गते जिल्ला अदालत काठमाडौंमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।
उनीहरूमाथि किर्ते, ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधसम्बन्धी कसुर लगाइएको छ।
अभियोगपत्रअनुसार संगठित समूहले नक्कली कागजात तयार गरी नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा देखाएर विदेश पठाउने योजना बनाएको र त्यसबापत ठूलो रकम असुलेको आरोप छ।
यस मुद्दामा विभिन्न बिचौलिया, उनीहरूका सहयोगी तथा गिरोहसँग आबद्ध अन्य व्यक्तिहरूमाथि पनि समान प्रकृतिका आरोपमा अभियोग दर्ता गरिएको छ। अब अदालतको फैसलाले यस बहुचर्चित प्रकरणमा आरोपितहरूको कानुनी जिम्मेवारीबारे अन्तिम टुंगो लगाउने अपेक्षा गरिएको छ।