काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोधकुमार खनालसहित २७ जनाविरुद्ध सरकारी अभिलेखमा गैरकानुनी हेरफेर, गलत लिखत तथा प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार काठमाडौं जिल्ला, साविक साँग्ला गाविस–९ अन्तर्गतका निजी गुठीका जग्गासम्बन्धी अभिलेखमा ‘गुठी’ सम्बन्धी विवरण हटाई सरकारी कागजात सच्याउने, केरमेट गर्ने तथा गलत विवरण समावेश गरी रैकर कायम गराइएको आरोपमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा जग्गाधनी दर्ता श्रेस्ताको विवरणमा हेरफेर गरिएको, विद्युतीय अभिलेख संशोधनमार्फत निजी गुठीको विवरण हटाइएको तथा त्यसपछि नामसारी, दर्ता र राजीनामा लिखत पारित गरी जग्गाको कारोबार गरिएको तथ्य खुलेको आयोगले जनाएको छ।
यस प्रकरणमा तत्कालीन कार्यालय प्रमुख खनालसहित मालपोत कार्यालयका विभिन्न कर्मचारी तथा अन्य व्यक्तिविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विभिन्न कसुरमा कैद, जरिवाना तथा कानुनबमोजिमको सजायको माग दाबी गरिएको छ।
आयोगले सरकारी कागजातमा गैरकानुनी हेरफेर, गलत लिखत र प्रतिवेदन तयार गरी भ्रष्टाचार भएको निष्कर्षसहित शुक्रबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ।